चुँडिएका कोपिलाहरूको
लेखिँदैनन् यहाँ कथा
न त कलिला मुनाहरूको
असमायिक निधनको
कष्ट कतै पोखिन्छ
फूल जोगाउन नसकेको
मालीको थकथकी
चुकचुकी मात्रै सुन्न पाइन्छ

दिन, महिना वर्ष गर्दागर्दै
बिर्सिइन्छन् उदाउनै नपाई
अस्ताएका फूलहरू
अनुहार बन्नै नपाई विसर्जित सपनाहरू
म पनि सायद त्यही माली हुँ
म आफ्नै पीडामा डुबेको छु
पीडामा भुलेको छु
म कुन पीडामा रोइरहेको छु भन्ने नै
सायद कहिलेकाहीँ भुल्दो हुँ
तिम्रो पीडा

आफ्नो पीडा आफैंले
पोख्न सक्ने भए
लेख्न पाउने भए
तिमीले पनि त
पोख्थ्यौ होला नि
फक्रिने लाखौं रहर सजाएर
महिनौं गर्भभित्र
कोच्चिएर कुर्दाकुर्दै
धर्तीमा टेक्नै नपाई
अस्ताउनु पर्दाको सन्ताप

घामलाई छुने
फूललाई चुम्ने
चराहरूको पछाडि दौडिने
पानीसँग जिस्किने
पोखिन मिल्ने सबै कुरामा
आफूलाई पोखाउने, देखाउने, जिस्काउने
बोलाउने, बोलाइने
रहरका पोकाहरू नफुकाइकन
आफूसँगै लैजानु
पर्दाको वेदना

पोख्न पाए
कसरी पोख्थ्यौ होला ?
कोखभित्र बस्दाको
त्यो सकसलाई
हन्डरलाई, भोकलाई
आँसुलाई अनि खुसीलाई
भएर नदेखिँदा
बोलेर नसुनिँदाको
ऐँठनलाई

देखिन नपाउँदा
हेर्न नसक्दाको कुन्ठालाई
कोख बाहिर निस्किएर
आफ्नो अस्तित्व कोर्ने आकांक्षा
तुहिँदाको तडपनलाई
अन्जान, अदृश्य अन्धकारभित्र
थुनिरहँदा कसैले बाहिरबाटै
छोएको अनुभूतिले
कस्तो भयो होला तिमीलाई

एक शरीर एक धड्कन
भएर हुर्किएको
ज्यानको एक झल्को
देख्नै नपाई जानु पर्दाको पीडा
कसरी भन्थ्यौं होला तिमीले
धर्तीमा ओर्लिएर सूर्यसँग
आँखा नजुधाई अस्ताउन
पर्दाको दुःख

रोयौ होला तिमी पनि
त्यो अर्को लोकमा
मलाई सम्झिएर
डुब्यौ कि बेलाबेलामा
आँसुको तालमा
कसरी पुछ्यौ होला ?
तिमीले
ती साना हातले
आफ्ना आँखाका आँसुहरू

अचेल झरी पर्दा
तिमीले थाम्न नसकेका आँसुहरू
वर्षात् बनेर झरेजस्तो लाग्छ
घाम लाग्दा तिमी खुसी हुँदा
सूर्य बनेर किरणहरू ल्यायौ, महसुस हुन्छ
बतासको सिरसिर झोका
तिम्रै हातजस्तो लाग्छ

चन्द्रमामा चढेर राति तिमी
मलाई हेर्न आउँछौ जस्तो सोच्छु
रुखका पातहरू हल्लिँदा
तिमीले मलाई बोलाएको मान्छु
तिम्रा इशाराहरू मैले नबुझेर
अस्तित्व देखाउन
रिसाएर तिमी बाढी बनेर आयौ ठान्छु

तिमी मभित्र फुल्यौ
ममतालाई जगायौ
मातृत्वलाई काउकुती लगायौ
केही अनुभव गर्यौ
कति कति गर्नै नपाई गयौ
तिम्रो अस्तित्व जोगाउन नसकेको मेरो पीडा
अस्तित्व मेटिएको तिम्रो सन्तापभन्दा
ठूलो कदापि हुन सक्दैन

मभित्र कुनै दिन
अर्को कोपिला फुल्न सक्छ
अरु कोपिला फूल बनेको
फक्रिएको दृश्यहरूमा रमाएर
मैले तिमीलाई भुल्न पनि सक्छु
वा कहिलेकाहीँ
झुक्किएर सम्झन सक्छु

तिमीले पनि मलाई भुल्छौ कि
अरु नै कोखमा झरेर
तिमी पनि टुसाउँछौ कि
अरुको गर्भमा अरुको मर्ममा ?
कि फर्केर फेरि आउँछौ
मलाई नै भेट्न
मेरै गर्भमा ?

भएर पनि नदेखिनू
बोलेर पनि नसुनिनू
देखेर पनि नभेटिनुको पीडा
तिमीले जति राम्रोसँग
कसले बुझ्न सक्छ र ?
फुल्नै नपाई चुँडिएको मेरो प्रिय कोपिला ।