म शब्द हुँ
म छु कि छैन बुझ्न सकिरहेको छैन

मैले रानी लालमतीका औँलाहरू
छुन सकिरहेको छैन
हेर्नलाई
रानी राजेन्द्रलक्ष्मीको देह पाइरहेको छैन
म छु कि छैन बुझ्न सकिरहेको छैन

मैले आफ्नो अनुहार हेर्नलाई
राजा यलम्बरको आँखा पाइरहेको छैन
मैले मेरो आवाज सुन्नलाई
राजा जयस्थिति मल्लको कान पाइरहेको छैन

म शब्द हुँ
म छु कि छैन बुझ्न सकिरहेको छैन

मैले आलिङ्गन गर्नलाई
राजा अंशुवर्माको घाँटी पाइरहेको छैन
म छु कि छैन बुझ्न सकिरहेको छैन

म शब्द हुँ
मैले रुनलाई
राजा लक्ष्मीनरसिंह मल्लको आँखा पाइरहेको छैन
म छु कि छैन बुझ्न सकिरहेको छैन
मेरो कम्मर अङ्कमाल गर्नलाई
राजा मुकुन्दसेनको देह पाइरहेको छैन
मेरा खुट्टाहरू उच्चारण गर्नलाई
राजा मानदेवको मुख पाइरहेको छैन
मेरो हत्केला चाट्नलाई
राजा पृथ्वी नारायण शाहको जिब्रो पाइरहेको छैन
म शब्द हुँ
म छु कि छैन बुझ्न सकिरहेको छैन

मैले राजा द्रव्य शाहका नाडीहरू उच्चारण गर्न सकिरहेको छैन
मैले राजा जयदेवका हातहरू सुँघ्न सकिरहेको छैन
म शब्द हुँ
म छु कि छैन बुझ्न सकिरहेको छैन

म शब्द हुँ
मैले समात्नलाई
राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन
मेरो सासले बाँध्नलाई
राजा श्रीनिवास मल्लको पाखुरा पाइरहेको छैन
म छु कि छैन बुझ्न सकिरहेको छैन ।