म गइसकेपछि पनि
यदि फूल मुस्कुराइरहेको देख्यौ भने
सोच्नू, मेरो अनुहारको जून अस्ताएको छैन
समयको काँटा चलिरहेको सुन्यौ भने
ठान्नू, मेरो धड्कनले अझैसम्म
अनन्त थकाइ मारेको छैन
चलिरहेको बतास महसुस गर्यौ भने
म तिम्रै वरिपरि कतै
हम्केर तिमीलाई सम्झनाको पंखाले
त्यतैकतै डुलिरहेको हुनेछु

रुखहरूले हाँगामा नयाँ कपडा फेरे भने
सम्झनू, मेरो अस्तित्वको वसन्त
अझै शिशिर भइसकेको छैन
कतै नदीले सुसेली हाल्दै
गीत गाएको सुन्यौ भने
सम्झिनू, मेरो ओठ्भरिको गीत
अझै सुस्केरामा बदलिसकेको छैन
जुनकीरीले साँझमा-
उज्यालोको आशा बालेर उड्यो भने
सम्झिनू, म अझै औंशी भैसकेको छैन

जीवन मैनजस्तै –
सम्झनालाई पगाल्दै थुपारेर
बल्दै बल्दै सक्किने त रहेछ आखिर !
त्यही उज्यालोमा देखिने अनुहारहरू
सम्झनलाई त पहिले
बिर्सिनु पर्छ भन्छन्
अहिलेलाई बस यत्ति बुझिराख्नू
मैले तिमीलाई सम्झिएको छैन।

 

बर्दिबास -१४, महोत्तरी