मलाई मेरो लवज बदल्नु छैन
अलि कति खस्रो नै होस्
अलि कति फुस्रो नै होस्
अगाध माया होस् तर नबिझोस्
यहाँ
बिझ्नेहरू टाढा भए
नबिझ्नेहरू बिझाएर गए
त्यसैले तिमी टाढा नहुनू
मेरो मस्तिष्कमा सबैहरू आफ्ना हुन्
मनले छुट्याएन, कोही पर जाओस्
चिप्लो हुन आएन, कोही नजिक आओस्
अचेल
पर जानेहरू छुट्टिएर गए
नछुट्टिएकाहरू आफैं पर भए
तिमी त मेरो अभिन्न हौ
त्यसैले तिमी टाढा नहुनू
मेरो कारणले बिझ्यो भने फुल्याउन जान्दिनँ
कसैले स्वार्थले सेवा गरोस्
कोही शत्रु भै मैसँग लडोस्
अचेल
स्वार्थीहरू साँधेर गए
मनकाहरू झनै स्वार्थी भए
माहान् सोच्छु तिमी महान् छौ
त्यसैले तिमी टाढा नहुनू
शायद धनले बिर्सिएको मान्छे हुँ
दिन सक्नेहरू महान् रहून्
अर्को जन्म हुन्छ भने, हे दैव दिन सक्ने जन्म दिऊन्
अचेल
चिन्नेहरूले बिर्सन मन पराए
सम्झनेहरूले चिने र हराए
जसरी बित्यो जीवन, अभाव रहेरै बित्यो
त्यसैले तिमी टाढा नहुनू
मनमा मैलो भएपछि मन्दिर धाएको के अर्थ?
फूल सजाए पनि त फोहोर हो
मनले मनको पूजा गर्नु, पूण्य त्यही हो
अचेल
मूर्ति पुज्नेहरू फूल सजाएर गए
सजाउनेहरू आफैंले भत्काएर गए
“म” मात्र मन हुँ, मन नै सजाउँछु
त्यसैले तिमी टाढा नहुनू
हेर मरेपछि त हरकोही एक्लै हुन्छ
म झैं तिमी पनि त अवश्य मर्छौ
तिम्रो भिडले तिमीलाई, सल्काएर जाला
मलाईझैं, उसै गरी जलाएर जाला
अचेल
साथै हिँड्नेहरू फर्किएर गए
एक अञ्जुली पानी छर्किएर गए
एक्लै थिएँ, हजार भए, फेरि एक्लो फालेर गए
क्षणमै भुल्ने छन् पक्कै, दुई थोपा आँशु झारेर गए
तिमी छौ मनमा, मनमै रहनू
त्यसैले तिमी कहिल्यै टाढा नहुनू।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।