नदी किनारमा उछिट्टिएर
बसेको काठको रङ्गहीन ठूटो झैं
यादहरू अल्झिरहेछ
यो मनका कुनाकुनामा
समयको गड्तीरमा
ठिङ्ग उभिएर
माथि आकाशमा उडिरहेको चरालाई हेरेँ
माथि आकाशको जून छुने रहर
माथि आकाशको ताराहरू टिप्ने रहर
उड्नुपर्ने मन
चराझैँ दिल खोलेर
अथाह चाहना र सपनाहरू भेट्न
आज केवल यादहरूको बिरानो छायाँ बनेछ

छातीमा टाँसिएका
तिम्रा शिरका न्यानोपन
यादहरूमा अझै अनुभूत भइरहन्छन्
एक मुठी मुस्कान कोसेली छाडेर
वाचा कसमका डोरी कसिएकै हो
समयको दोबाटोमा
बाध्यताका झोलाहरू बोकेर
अलग बाटो हिँडिएकै हो
मायाको फूलबारीमा
लटरम्म फुलेका फूलहरू पनि
यादहरूमा सीमित बने
सँगै हिँडने वाचा कसम कसिएका
जीवनका गोरेटाहरू
अपूरो प्रतिज्ञा बनेर बसिरहे
नदीका दुई किनारझैं
पृथक् बाटोमा हिँड्दै गर्दा
के यादहरूले तिमीलाई पनि अल्झाइरहेछ ?

मुहारभरि चन्द्रमा मुस्कान छरेको
सात समुद्रपारि तरेर भए पनि
माया अमर राख्ने कसमहरू
केटाकेटीहरूको भाँडाकुटी खेल साबित बने
वर्तमानमा आफ्नै दुनियाँमा
फुक्काफाल जिन्दगी बाँचे पनि
यादहरूको पहाड उभिएपछि
मनको मझेरीमा टुक्रुक्क बिसाउँदा
ताजा तस्बिर बन्दोरहेछ
अतीतका मिठो सम्बन्धहरू
भेटिनु र छुट्टिनु
समयको नियति हो
यादहरूमा दुख्नु नदुख्नु
आ–आफ्नो अनुभूति हो
नचाहँदा नचाहँदै अतीतका कथाहरू
यादहरूको मिठो धुन बनेर
मनको मझेरीमा
बेला बेला गुञ्जिदोरहेछ ।

 

खिजीदेम्वा–३, ओखलढुङ्गा
हाल: काठमाडौं ।