किताबका ठेलीहरूदेखि पर
परीक्षा हलदेखि बाहिर
प्रश्नपत्रहरूबिनै, चलिरहेछ
न जित्नै सकिने, न हारेरै मानिने परीक्षा

कोही परीक्षार्थी
बामे सर्दै खोजिरहेछन्
हाम्म मामसँगै
मेरो बाबू के बन्ने?, प्रश्नको जवाफ

कोही परीक्षार्थी
मकै पोल्दै डुलाउँदैछन् नजर
मानौँ मकैको खोल होइन, चिटका पोका खोल्दैछन्
निरीक्षकले देखिहाले पेट अघाउने गरी अंक आउँदैन

कोही कुरुवा कक्षमा कुरिरहेछन्
अस्पतालको शय्यामा आफैसँग जुधिरहेका परीक्षार्थी
यसरी कि उनीहरूले सक्ने भए
अब्बल अंक ल्याएर, सँगै घर फर्कने थिए

कोही उभिरहेका छन्
नदीका दुई किनारजस्तै
त्यागको परीक्षा दिएर
समुद्र पुग्दासम्म मिलनको आश राखेर

परीक्षार्थी बाउआमा
कतै सन्तानको जिन्दगीको परीक्षा सफल पार्न
आँखा टिलपिल पार्दै, आफैँ
सुरु गर्दै छन् पर्खाइको परीक्षा

कतै उहिल्यै
वर्षौंअघि दिएको परीक्षामा
फेल भएर पुनर्योगको फारम भर्न
वृद्धाश्रम जाँदैछन्

तिमी खेस्रा कागजमा अङ्कगणितको कुरा गर्छौ
यहाँ सबैजना एउटा यस्तो परीक्षा दिँदैछन्
जहाँ जिते केही नआउन पनि सक्छ
हारे सर्वस्व गुमाउनेछन्

काश, जिन्दगीका यी
परीक्षाहरूको पनि
एउटा भरपर्दो
गेसपेपर हुन्थ्यो!

साकार शर्मा
चिकित्सा शास्त्र विद्यार्थी, नेपालगञ्ज मेडिकल कलेज