कसैलाई कोमल लाग्ने यी आखाँहरू
जसले देखिसकेको छ
एउटा रात अलप हुनुपूर्व समुन्द्रमा नुहाउँदै गरेको जुन
जसले देखिसकेको छ
वरको लहरामा झुण्डिएर चरा जस्तै उड्ने प्रयत्न गरिरहेका बच्चाहरू
जसले देखिसकेको छ
आफ्नै जीवनको किनारामा डुङ्गा बाधिरहेको माझी
जसले देखिसकेको छ
वेदनाको मोटो पुस्तक बोकेर भट्टि छिर्ने आकस्मिक पाहुनाहरू ।
कसैलाई कठोर लाग्ने यी आँखाहरू
जसले देखिसकेको छ
खतरनाक रोगले ग्रसित बन्दै गएको यो देशको शाषक
जसले देखिसकेको छ
सभ्यताको पुरानो विज्ञान बोकेर हिँडेका आदिवासीहरू
जसले देखिसकेको छ
अस्तित्वको निम्ति द्वन्द्व गरिरहेका दुर्लभ पुतलीहरू
जसले देखिसकेको छ
भोकले पेट मिचिरहेका बुद्दका मुर्तिहरू
जसले देखिसकेको छ
छुरा बोकेर स्वागतार्थ उभिएका फूलहरू
कसैलाई प्रेमिल लाग्ने यी आँखाहरू
जसले देखिसकेको छ
मध्यरातमा सेतो फ्रक लगाएर नाचेर हिँड्ने सुन्दर युवतीको प्रेतात्मा
जसले देखिसकेको छ
बाथ ट्युबको तातोपानीमा उत्तानो पल्टिरहेकी कुनै स्त्रीको नाङ्गो शरीर
जसले देखिसकेको छ
कुनै काल्पनिक टापुको मोनास्ट्रीमा निदाइरहेको फकिर
जसले देखिसकेको छ
घाइते इतिहास बोकेर बिक्रीमा बसेको पुरानो थाङ्का ।
कसैलाई कुरुप लाग्ने यी आँखाहरू
जसले देखिसकेको छ
घाटको छेउमा आगो बेचिरहेका पुजारीहरू
जसले देखिसकेको छ
अल्लाहले आत्महत्या गरेको मस्जिदमा उठेको मिनार
जसले देखिसकेको छ
अगरबत्ती जलिरहेको मन्दिरमा गुम्बज
जसले देखिसकेको छ
बतासलाई कुल्चिएर आकाश छुदै गरेका कलश ।
यी सबै सबै दृश्यहरू देखिसकेका यी आखाँहरूलाई
कहिल्यै नझिम्किने गरि एकदिन लामो विश्राम त दिनु छ नै ।
तर विश्राम दिनुपूर्व अन्त्यमा
म यी नै आँखाहरूले हेर्न चाहन्छु
संसारलाई दासी बनाएर बसेको
ईश्वरको आँखाबाट खसेको एक थोपा आँसु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

