आकाश कुनै इलाका होइन
साँध लगाएर कित्ताकाट गर्न

जब तिमी सफल हुन्छौ
घेरबार गर्न
आकाशको विस्तृतता, उसको आफ्नोपना
बिलाउँछ
अनि जन्मिन्छ—
आशंका, संकीर्णता र षडयन्त्रको क्यान्सर
द्वन्द्वको अवस्था
जीवन र मृत्युको

आकाश आफैं अभेद्य, सशक्त
हो तिनले प्रयास गरे—
अनेकन प्रविधि प्रयोग गरेर
आकाशमा गएर सीमा बाँध्न !
कहाँ पुगे र—
आकाशमा तिनीहरू ?
ती त पुगे मात्र अर्को ग्रहमा !

आकाश त स्वयम् हूँ !
‘म’ — न छुन सकिन्छ, न भाँच्न
न आफ्नो बनाएर लिनै सकिन्छ
त्यो आफैंमा अनन्त, स्वयम् विस्तृत !

यसको अर्थ
‘म’ भित्रको ‘म’ लाई
आकाशलाई जस्तै
कसैले कित्ताकाट गर्नै सक्दैन ।