हिजोसम्म चम्किंदै मेरो लेखनीमा
कागजका पाना भरी पोखिने
सुन्दर र सुसंस्कृत शब्दहरूले सजाउने
प्रकृति र प्रकृतको प्रेमले मुस्कुराउने
मेरी कविता आजकल हराएकी छ

पत्रिकाका पानाभरि मैले खोजेँ
महलका कोठा चोटा खोज्न चहारेँ
प्रज्ञाका चौतारीमा बसेर कुरी रहेँ
तर खै कता गै, कता गै
ऊ भेटिइन, ऊ आइन
अचेल मेरी कविता हराएकी छ

सुनेथेँ
कविता युवाहरूको ढुकढुकी बोकेर
विदेश पलायन भई रे
अचेल कविता बन्द छे रे
मरुभूमिको रापयुक्त बन्धनमा
परदेशका गोठ बगान र कारखानामा
बधुँवा मजदुरजस्तै कुनै सेठको दरबारमा

अनि मैले सुनेको
कविता विदेशका डान्सबारमा
चुरोटका ठूटाबाट डामिँदै
नृत्य मग्न छे रे
कठै मेरो कविता
स्वच्छन्द हिमालको काखबाट
मरुभूमिका धनका लालसामा
बरालिएकी छ
मेरो लेखनी शून्य शून्य भएको छ
आजकल मेरी कविता हराएकी छ ।

नख्खु मार्ग, ललितपुर १३