हरेकसँग जीवनमा सपना हुन्छ
फरक हुनसक्छ तर हरेकसँग हुन्छ
उसको कल्पनामा एउटा सुन्दर गन्तव्य हुन्छ
काल्पनिक सुख, काल्पनिक पहिचान
छुट्टै सान र मान
असीमित धन सम्पत्ति
अहिले हेर्दा दूर, सुदूर लाग्ने
तर वर्षौंपछि कुनै दिन पूरा हुने आशमा
सायदै बाँच्यो भने, बुढेसकालमा
ऊ आजको रहर मारिरहेको हुन्छ, जिउज्यान लगाइरहेको हुन्छ
आशै त हो नि, सपना त हो नि…

जिन्दगी सकिनै लाग्दा पनि
रहर सकिदा पनि, रङ सकिदा पनि
सोचेको सबै पूरा हुँदैन, उसको गन्तव्य भेटिँदैन

तर
एउटा सत्य, कसैले सोचेको हुँदैन
एउटा गन्तव्य, कसैले चिताएको हुँदैन
कमाउनेहरू पनि, रमाउनेहरू पनि
सोचेको पूरा हुने, नहुनेहरू पनि
सपनाको गन्तव्य भेट्ने वा नभेटी रुनेहरू
सबैले एकदिन माटोमै मिल्नु छ
हरेकको अन्तिम गन्तव्य उही हुनेछ

फरक हुनेछ त केवल, यात्राको
जीवनरुपी यात्रामा
कतिले रमाउँदै गन्तव्य भेट्टाउने छन्
कतिले कमाउँदै गन्तव्य भेट्टाउने छन्
सबैको साझा गन्तव्य
हरेकले उति नै भेट्टाउने छन्
हिसाबकिताब शून्य हुनेछ
अनि खाता बन्द हुनेछ
पुग्नु त आखिर त्यहीँ छ
जहाँबाट हरेकलाई मुक्ति मिल्ने छ।

————*———–

शिखर नगरपालिका ९, डोटी