तिमी कतै उभ
भौँतारिरहेका चिजबीजहरू तिम्रो देहको पूर्णविराममा रोकिऊन्
र एउटा वाक्य बनोस्

तिमी यो घाउको सामुन्ने उभ
र तिम्रो देहको पूर्णविरामले बहिरहेको रगत रोकोस्
अनि एउटा वाक्य बनोस्

तिमी जहाँसुकै उभ
चिजबीजहरू कथाको वाक्य बनेर
तिम्रो देहको पूर्णविराममा आएर अन्त्य हुन्छन्
चिजबीजहरू जहाँसुकै सुरु भए पनि
तिनीहरू तिम्रो देहको पूर्णविराममा अन्त्य हुन्छन्

तिमी घरमा जहाँसुकै उभ
चिजबीजहरू तिम्रो देहको पूर्णविराम पछाडि उभिएर वाक्य बनाउँछन्
तिमी बार्दलीमा उभ वा ढोका नजिक उभ
वाक्य बनिरहन्छ
तिमी पूजाकोठामा उभिए तुलसी, अबिर, भित्ता, दुःख, ईश्वरहरूले
तिम्रो देहको पूर्णविराम पछाडि वाक्य बनाउँछन्

तिमी हुनु मात्र पर्छ
कथाका वाक्यहरू बनिरहन्छन्
तिम्रो देहको पूर्णविराम छ र त
वाक्य छ
अर्थ छ

ह्वारह्वारती आइरहेका सोमबार, मङ्गलबारहरू
तिम्रो देहको पूर्णविराममा रोकिएर बनेका छन् –
यी चप्पल, कूचो, तौलियाहरू
तिम्रो देहको पूर्णविराम पछाडिको
एक कचौरा दुःख हटाएर
मैले त्यहाँ एक गिलास दूध राखेको छु

तिम्रो देह नभई वाक्य बन्दैन
तिम्रो देहको पूर्णविराम नभए
न आँगन अडिन्छ, न खुड्किलो
न त अडिन्छ भित्ता
न हुन्छ बहिरहने आकारको किनारा
न रहन्छ सूर्यास्त हुने ठाउँ
न हुन्छ आइरहेको दुःखको सिमाना

तिमी जहाँसुकै उभ
संसार
एउटा वाक्यमा अटेर
तिम्रो देहको पूर्णविराममा रोकिन्छ
तिम्रो देहको पूर्णविराम छ र
म ढुक्क छु कि
म जहाँ भए पनि
एउटा वाक्यमा रहिरहन्छु

संसार जहाँसुकै आरम्भ होस्
यो
तिम्रो देहको पूर्णविराममा आएर अन्त्य हुन्छ
तिमी नभई
संसार वाक्यमा अट्न सक्दैन

वाक्य जहाँ सुरु भए पनि
अन्त्य भने तिम्रो देहको पूर्णविराममै हुन्छ
सूर्यको आरम्भ जहाँसुकै होस्
यसलाई तिम्रो देहको पूर्णविरामले नरोक्दासम्म पृथ्वीमा घाम लाग्दैन ।