मुखपत्रको आँखी झ्यालमा
बूढो कलम
चियाउँदै गर्दा
मोफसलबाहिर
खोजीपत्रको कलम
झुपडी चहार्दै छ
जे देख्छ
सोही भेट्छ
तानाबाना
र
तानाशाहको
नजरले नदेखेको
लुटिएको सिमाना लेख्छ
उता
बूढो कलम
बुढ्यौली नीब मसीमा चोब्छ
अक्षर खोतलेर
शब्द जोख्छ
अखबारको मान्द्रोभरि
बिस्कुन पोख्छ
उसलाई झुपडीको भन्दा नि
महलको
दु:खीको भन्दा नि
सुखीको
जय जयकारमा
स्तुतिगान लेख्नु छ
काला कर्तुतलाई
ढपक्क ढाक्नु छ
मझेरीभन्दा बाहिरको
अथाह
घामपानीको कथा
घर बसेर नेपाल देख्नु छ
ठीक बेठीक
छुट्याउनु भन्दा नि
सरकारको कमल चरणमा
‘त्वम् शरणम् गच्छामि’
गुलामी गर्दाको अनुकम्पाले
दिएका वाणी सम्प्रेषण गर्नु छ
जनादेशको विपक्ष
उपर
परमादेशको सत्तापक्ष
गुणकारी देख्नु छ
आफू र आफ्नो
अस्तित्व
धरापमा पारेरै
भए नि
देखौटी रुपमा
‘हिङ नभए नि
हिङ बाँध्या टालो’ झैँ
ठुस्स गन्हाउने
शासकका कीर्ते
आश्वासनलाई
सम्पादकीय लेख्नु छ
बबुरो पाठक !
छक्क पर्छ
देखेर दुई कलमको कर्म
एकाबिहानै हल्कराले
कराउँदै हिँड्छ ।
…… सुशासन फैलिएको देश …
….न्याय हराएको देश …..
फरक शीर्षकमा
समाचार बनेर
दैलो दैलो चहार्ने
ती अखबारमा
सरकार त भेटियो
तर
दुर्भाग्य !
न्याय भेटिएन
सरकार पुस्ता पुलिन्दाको
बूढो कलम
र
जनता पुस्ता पुलिन्दाको
युवा कलमबीच
संवाद भइदिए
भावि नजरले
सत्य तथ्यमा
दिग्भ्रमित
हुनुपर्ने थिएन ।
गजुरी,धादिङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।