मेरा खल्तीहरू छनछनाउन्जेल
र, काँधमा राष्ट्रको सिन्दुर छउन्जेल
थुप्रै आफन्त र मित्रहरू थिए
सबै सधैं पधारिन्थे
खान्थे, खेल्थे
सानन्द रमाउँथे
अनि
कामनाका पेटाराहरू खोल्दै
यस्तो गरिदेऊ भन्थे
उस्तो गरिदेऊ भन्थे
मेरै वरिपरि भुनभुनाइ रहन्थे

कतिलाई भनेर गराइदिनु पर्थ्यो
कतिलाई भनेर नगराइदिनु पर्थ्यो

अब मेरा खल्तीहरू स्याप्प छन्
छनछनाउन्नन्, शान्त छन्
काँधमा राष्ट्रको सिन्दुर पनि छैन
र, मेरा बुझ्झकी आफन्त र मित्रहरू पनि
बलेको आगो खोज्दै
यताउति लागेका छन्
र, अचानक भेट हुँदा पनि
नजर अन्तै पन्छाइहाल्छन् ।