(१)
हिजो मैले गरेको थिएँ,एक उल्लेखनीय काम
आजको ताजा अखबारहरुमा छ उसको नाम
याद मेरो गरेर समयको मूल्य चुकाउँदैन कोही
थाहा छ भने सबैलाई,मसँग कहिल्यै हुँदैन दाम
संविधानले प्रदान गरेको अधिकार ग्रहण गर्दा
कुटिएँ सुरक्षाकर्मीबाट, साक्षी छ शरीरमा डाम
के छ पीडितको अवस्था भनी बुझ्ने भएन कोही
पीडकको दरबार सामु छ, शुभेच्छुहरुको लाम
सीधा बाटोम हिँडेर, सिधै अघि बढ्न सकिएन
घुमाउरा बाटाहरुमा छ,अवसरवादीहरुको जाम
घरधनीले भोलि कोठा छोडर निस्कनु भन्दैछन्
हे प्रभु ! छौ भने भन,आजको भोलि कहाँ जाम ?
(२)
न तिमीलाई देखेर परैबाट कहिल्यै तर्केको छु
न तिम्रो सामु परेर बोल्दा कहिल्यै झर्केको छु
यात्रामा तिमीभन्दा अलिकति अघि बढे पनि
तिम्रो हालखबर बुझ्न बारबार पछि फर्केको छु
मलाई हाँसेको मात्र देख्नेहरुलाई थाहा छैन,
एकान्तमा आँसु झारेर पटकपटक दर्केको छु
बाहिरबाट हेर्दा मात्र मलाई सग्लो देखिएको हो
भित्रबाट चियाउने हो भने ठाँउठाँउमा चर्केको छु
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।