डाँडा माथिका ती
राता पहेँला ताराहरु
कसैका पनि होइनन्
बिल्कुल लावारिस
आकाशको कालो अँध्यारो गहिराईमा
हुत्याइएका
भुस्याहा कुकुरका भोका बच्चाजस्तै

र, ती यति स्वतन्त्र छन्
कि जति तिमी हामी छौँ,
अहिले
हामी भुस्याहा हौँ,
तारा हौँ ।

जगत
जुन चलिरहेछ
ट्वाक-ट्वाक
ट्वाक
ट्वाक
ट्वाक
बन्चरोले रुख काटेझैँ
एकनास

घना जङ्गलको
चर्को शून्यानुभूतिमा
यहाँ
हुनु भनेको
अस्पष्ट हल्लाहरुमा मात्र
सीमित हुनु हो

जून टुक्रा टुक्रामा
उछिट्टिएर
आई पुग्छ आफ्नै काखमा
बेलाबखत
प्रश्न बनेर

के थुनिएकाछौँ हामी
आफ्नै गुफाभित्र या
हामी साँच्चै स्वतन्त्र छौँ?

आँखामा बिझेका यी
काँडा हुन्
कि सपना?

टाढा-टाढा
डाँडापारि पुगेका
पराई हुन्
कि आफ्ना?

जवाफ म कहाँ भेटुँ?
मेरो मनको साँध मिच्ने
तिम्रा कुटिल नजरहरुमा?
धुँवा, धुलो बीचको भिडभाडमा?
जङ्गल बनेका सहरहरुमा?
नाङ्गिएका पहाडहरुमा?

डढेलो लागेसँगै मेरो देशका
हिमालहरु
अब तिम्रा समुद्रहरु
खडेरीमा पुरिन सक्छन्

अहंकारको पर्खाल पारि
पर्खाइमा कसैको
बितेका र बित्न बाँकी
समयहरु
बुझ्न बाँकी
प्रश्नहरु, मन्त्रहरु
“असतोमा सद्‌गमय”हरु
बितेका र बित्न बाँकी
टुक्रा-टुक्रा समयहरु
सहगमनका

फर्कनेछु
म यी पहाडहरुलाई
एकैछिन अङ्गालो हालेर।