निद्रा त,
हिजो पनि लाग्थेन।

जब जेठको गर्मीमा,
दिउसो टन्टलापुर घामले घमौरा उमारेको ढाड
राति सुत्ने बेला चिलाएर औडाहा हुन्थ्यो,
म जुरुक्क उठेर,
बाहिर धारामा गई
खललल टाउको भिजाउँथे,
अनि फेरि फर्की जब निदाउने कोसिस गर्दथेँ,
त्यसैबेला एउटा लामखुट्टे कानैनेर आई कराउन थाल्थ्यो,
क्याऊऊऊ !!

निद्रा,
आज पनि लाग्दैन
आजकल शरीरमा घमौराहरु देखिँदैनन्,
न त आकाशमा उहिलेजस्तो ताराहरु नै,
आजकल लामखुट्टेहरु पनि मेरो निद्रा बिथोल्न आउँदैनन्,
आउँछन् त केवल, मनभित्रै छट्पटिइरहेका आवाजहरु,
गुम्सिएका यादहरु, थोत्रा अधुरा आकांक्षाहरु !

हिजो र आजमा,
समय बदलियो,
परिवेश बदलियो,
म आफैँ बदलिए,
तर निद्रा आज पनि लाग्दैन,
अर्कोतिर,
गर्मी भने जस्ताको तस्तै छ..
हिजो तनको गर्मीले सताउने गर्थ्यो,
आज मनको गर्मीले अत्याइरहेछ ।