– पकाइदिने मेसिन
– खुवाइदिने औजार
– धोइदिने यन्त्र
– पखालिदिने साधन
ती सम्भ्रान्त मान्छेहरू
जसलाई
सबै कुरा मेसिनले गरिदिन्छ ।
तर विसर्जन गर्ने आफैं,
खान जान्ने
तर फाल्न नजान्ने,
सुकिलो-मुकिलो पहिरन
र महँगो आभुषणमा सजिएर
प्लास्टिकका झोलामा
लक्जरी लाइफको
आडम्बरी रवाफ बोकी हिंड्ने
निर्लज्ज शौखिन मान्छेहरु
देख्दा लाग्छ
तिनीहरु मानव होइनन्
यन्त्रमानव हुन् ।
ज्ञान पुस्तकमा हुन्छ कि व्यवहारमा ?
विश्वास कुरामा हुन्छ कि काममा ?
यहाँ पढन्तेहरू नै
बढी हलन्ते काम गर्छन्,
वातावरणविद्हरू नै
प्लास्टिकका सामानको
विज्ञापन गर्न उद्दत छन्,
नत्र किन
सहर सौदामा निस्किँदा
तिनीहरूको साथी सगोत्री बन्छन्
प्लास्टिकका झोला र सामग्री
सोच्दछु –
यिनीहरू त
प्लास्टिक खान्छन्
र प्लास्टिक नै पहिरिन्छ्न् ।
आलिशान महलमा बस्नेहरू
अनि चिल्ला गाडी चढ्नेहरू
घरका बार्दलीबाट
गाडीका झ्यालबाट
फ्यात्त-फ्यात्त फालिरहेका देख्छु
फोहोरका पोका बाहिर सडकमा
मन कटक्क काटिन्छ
यिनीहरूले फेर्ने सास
प्लास्टिकका थैलामै
थुनिएको भए के गर्थे ?
सिसाको घर बनाएर
ढुङ्गासङ्ग दुश्मनी मोल्नेहरु नै
अक्सर,
सुरक्षा नितिका परिकल्पनाकार हुन्छन्
प्लास्टिकका मुटु, कलेजो र फोक्सो
कारखानाका मालिकहरु
मान्छेको आयु तोक्दै हिंड्छन्
लज्जास्पद !
सुकिलो आवरणभित्र
मैलो मन बोकेका मान्छेहरू
पानीको मुहान प्लास्टिकले थुन्छ्न्
र, धारामा ढल थाप्छ्न्
बिचरा यिनीहरूलाई हेक्कै छैन कि
यो ब्रह्माण्ड नरहे
मान्छे त के प्राणी नै रहँदैन
आफू बाँचेको प्रमाण दिन पनि त
अरुलाई बचाउनु पर्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ कार्तिक २०८२, शनिबार 










