हामी सबैलाई लाग्छ,
यो सहरको प्रत्येक कोठाबाट
खसेको उज्यालोमुनि
एक पुरुष बस्छ
जसले घरबाट
गुन्द्रुकसँगै बोकेर ल्याएको छ
जिम्मेवारीका गह्रुँगा भारीहरू ।
तर,
यो सहरका थुप्रै कोठाहरूमध्ये
केही कोठा ती छोरीहरूको पनि हो,
जो उमेर ढाँटेर परदेश उड्न आएका छन्,
जसलाई बिझाइरहेको छ
– आमाको फुलेको शिर
– बाका अनकन्टार आँखाहरू
– घरको छानो र साहुको ऋण ।
कुनै कविको बिम्बले समेटिएनन् होला,
कुनै आख्यानकारको आँखामा झुल्किएनन् होला,
तर यो सहरको केही कोठा ती छोरीहरूको पनि हो,
जो लडिरहेका छन्
– प्रेमको पासोमा पारेर उत्पीडन लाद्ने कु-मान्छेहरूका विरुद्ध ।
मौनताको चिसो सन्नाटाले बेरिरहेको
त्यो अँध्यारो कोठा यही सहरको एक हिस्सा हो,
जहाँ मेरी दिदीलाई प्रायःजसो भाइको उपचार दुख्छ,
बहिनीको पढाइ दुख्छ,
कार्यालयको दुर्व्यवहार दुख्छ,
अभाव दुख्छ,
गरिबी दुख्छ,
जिम्मेवारी दुख्छ,
सबथोक दुख्छ ।
तर सम्झनू,
रहरको झिलिमिली बत्तीमुन्तिर
आफ्नै उज्यालो खोजिरहेका केही जुनकीरीहरू छन्,
जसलाई दुखेरै पनि बनाउनु छ आफ्नै बाटो
र, उड्नु छ एक झिल्को गन्तव्य ।
प्रिय भूपी !
यो सहरको तमाम कोठाहरू,
भाग नै लगाउनु परे केही कोठाहरू,
सपनामा आमाको काख
कल्पनामा भविष्यको सुन्दर मानचित्र बोकेका
ती तमाम छोरीहरूको भागमा पनि पर्छ,
जसको विचारको भित्तामा लेखिएका छन् –
“कर्तव्य र जिम्मेवारीको कुनै लिङ्ग हुँदैन ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 










