बोलिएका आवाज नसुनिएझैं हुँदा
बोलीको पनि केही अर्थ हुँदैन
आवाजहरु नै आवाजविहीन हुँदा
थुप्रिजान्छ मनभरि असन्तुष्टिका कुण्ठाहरू
अनि जन्मिन्छ विद्रोहका आँधीहरू
नियमका ठेलीहरू भएर पनि के गर्नु
जब नियम कमजोरलाई मात्रै लागु हुन्छ
सिद्धान्तका कुरा रटेर मात्रै कहाँ हुन्छ
जब कि कोरिन्छ अदृष्य सीमारेखा
अनि बनाइन्छ सीमान्तकृत
शक्तिशालीहरू नै शक्तिको उन्मादमा
एकहोरो पेल्दै जाने कमजोरहरूमाथि
त्यहीबाट शुरु हुन्छ वर्ग संघर्ष
त्यहीँबाट शुरु हुन्छ एउटा क्रान्ति
जब आवाजहरू शून्यतामा पुर्याइन्छ
मनभित्र आगो बनेर सल्कन्छ
मौनतापछि आउन सक्ने ठूलो आँधी
रोक्न सकिन्न भने
प्रलय बोकेर आउछ स्वार्थी शहरहरूमा
शक्तिशाली होस् या दुर्वल
बिना विभेद प्रहार गर्न सक्छ
कोलमा तोरी पेले जसरी पेल्न खोज्दा
तोरी जस्तो तेल आउदैन
बरु प्रतिरोधको ज्वालामुखी पड्किन सक्छ
बरु आकासबाट बादल गर्जेर
बिजुलीमय आगो दन्कन सक्छ
बल जति दबाइन्छ
त्यति माथि उफ्रन्छ
क्रियापछि निश्चय नै प्रतिक्रिया जन्मन्छ
शान्त तलाउमा ढुङ्गा हानेपछि
तरङ्ग कुना कुनासम्म ठोकिन्छ
मनभरि पीडा बोकेर
सधैँ हाँस्न सक्दैन
सीमान्तकृत सीमारेखामा मन
पुरातन सोचका अँध्यारो गुफामा
गुमनाम बन्न चाहदैन चाहनाका क्षितिज
समयको कठघरामा उभिएर
आशाका किरणहरू खोज्नुछ
कालो बादलका धब्बाहरूमा
टिलिक्क टल्किने चाँदीको घेरा देखिएझैं
आशाका किरण देखिनुछ
विरहका कथाहरू
मनका मझेरीमा परेड खेलिरहन्छन्
सीमान्तकृत आवाजहरू
वेवास्ताका शिकार बनिरहँदा
गर्जिन्छ अक्रोशका गर्जन
मौनताका आँधीहरू
विरुपता लिएर आउनु अगाडि
शान्त नदी बन्नुपर्छ
जहाँ मान्छेले मान्छे जस्तो बाँच्न सकोस् ।

 

खिजीदेम्वा–३, ओखलढुङ्गा
हाल: काठमाडौं ।