गाउँ छुटेपछि
भेटिएको शहर
निकै रङ्गिलो थियो
निकै मिठो, मस्त थियो
सबै कुरा बिर्साइदिन्थ्यो
रहरका फूल फुलाइदिन्थ्यो
बेला-बेला घर भुलाइदिन्थ्यो
रमरम-झमझममा दिन भरिन्थ्यो
आफैँलाई देखेर छक्क परिन्थ्यो
शहरले पेट भरेकै थियो
गर्ने जति गरेकै थियो
यत्तिकैमा मैले
ठानेँ, शहर मेरो भैसक्यो
चल्दै थियो
समयले उमेर धकेल्दै थियो
शहरको एउटा प्रहरमा पुग्दा
आँखाले रङहरू घोल्न छाडे
रहरका फूलहरू आफैँ झर्न थाले
मस्किने मनहरू अनायासै मर्न थाले
म शहरसँगै थिएँ
शहर मसँगै थियो
तर छेउमै राखेर नजरअन्दाज गरिदियो
र बल्ल बुझेँ ऊ दिन भेटिएको ठाउँ
वास्तवमा शहर थिएन
रहरहरूको भङ्गालो थियो
रित्तो भङ्गालोबाट छुटेपछि
फर्किएको गाउँ
जस्ले मलाई भुलेको थिएन
मात्र पर्खिएको थियो ।