सँगै हिँडेको त्यो यात्रा नै
तिमी र म जोड्ने कसिलो बन्धन हो
हामीलाई एक ठाउँमा ल्याइदिएको
ती मिठा दिनहरूको सम्झनामा
डुबुल्की मार्दै गर्दा
नियालिरहेछु म
मसी लत्पतिएको यो पत्र
जुन तिमीले विश्लेषणका निम्ति
स्वच्छन्द उडेको पक्षीजस्तो
हावामा उडाएर मतर्फ
आफू विपरीत दिशातर्फ
उडान भरेकी थियौ।।१।।

तिमीले दिएको अभिव्यक्ति
मेरो मनको सिद्धान्तसँग
मिल्दै-नमिलेपछि
कसरी खोज्न सकिन्छ र
समुद्रको गहिराईमा पुगेर
जीवनको यथार्थ बुझ्ने हाम्रो अभियान
जहाँ हाम्रो मिलन बिन्दुको
सान्दर्भिकता बुझाउन सकियोस्।।२।।

सिंगो ब्रम्हाण्डमै उत्कृष्ट
तिमीले दिएको मायाको सामु
चुम्बकका दुई विपरीत
ध्रुव हुन खोजेर
केही नबोलेर पनि धेरै
कुरा भनेजस्तो हुन्छ मलाई
स्वछन्द आकाशमा उड्ने चरा
पिँजडामा जकडिए जस्तो
सायद तिमीलाई पनि
यस्तै यस्तै भएको हनुपर्ने हो।।३।।

मसी लत्पतिएको समझदारीपत्र
नियालेर हेर्दा यस्तो लाग्छ
तिमीले पत्र लेख्दै गर्दा
तिम्रा हातहरू काँपेजस्तो
विवशतामा कोरेजस्तो
तर पनि कताकता
तिम्रो सफा मनको प्रतिबिम्ब
आभास पाउन सकिन्छ
त्यो थेत्तरो समझदारीपत्रमा
सायद मनले माया पढ्छ
दिमागले पत्रका अक्षरहरू ।।४।।

त्यसैले आऊ अब
भावि नेतृत्वका लागि
सफल यात्राका लागि
तिम्रो मेरो अन्तर्विरोध
वैचारिक बहसको सान्दर्भिकता
इतिहासमा सिद्ध भइसकेकाले
अब नयाँ विचार निर्माण गर्नुपर्नेछ
तिक्ततापूर्ण चलिरहेको यात्राको
यो डोरीलाई थप मजबुत बनाउन
संघर्ष होइन, सहकार्य गरेरै मात्र
अघि बढ्न मेरो आग्रह छ
सँगै निरन्तर अघि बढ्न
तिम्रो साथ निर्णायक हुनेछ
न कि मसी लत्पतिएको समझदारीपत्र ।।५।।

धुम्बाराही, काठमाडौँ
(हालः नेपालगञ्ज)