गुनेका बुनेका धुनेका छरपस्ट सपनाहरू
एक-एक गरी उधिन्छु मिलाउँछु मिल्दैनन्‌
छानेर समय मौसम हेर्दै बाँड्छु
पक्ष विपक्षको कित्ताकाट गर्छु
भूमिका अनुसार बाँड्छु
अशोभनीय देखिन्छन्‌ आफूजस्तै
मिसन र भिजनमा सिजन मिसाउँछु
वाद तिलाञ्जली हुन्छ आफ्नै सपना बाँड्छु
सपनामा आत्मनिर्भर छु स्वदेशी अर्गानिक वाद
ढाल्ने पछार्ने अचुक अस्त्रको वाद
लडाउने भिडाउने लाज छोप्ने वस्त्रको वाद
स्वउपार्जित स्वर्णिम वाद जन्माउँदै छु
तुकबन्दी मूल्यहीन माथापच्चीसे गर्दै
मनमस्तिष्कले गुन्दै तरोताजा वाद जन्मदै छ
नाफाको जीवन नाफाकै वाद
असम्भवलाई सम्भव बनाउने
सम्भवलाई असम्भव बनाउने
क्यास टुडे, क्रेडिट टुमारो
अर्गानिक वादमा शत्रु मित्र हुन्छन्‌
मित्र स्वतः शत्रु बन्छन्‌
ताकेको चाहेको परे दल बदल टन्टै साफ
बकमफुसे वाद जसरी व्याख्या गरे पनि काम तमाम
अर्जुनदृष्टि सिंहासनमा आशलाग्दा खाइलाग्दा सपना
आफैँलाई परिभाषित गर्छन्‌
हैसियत खैरियत उदाङ्गो गर्छन्‌
शतप्रतिशत बुद्धिविवेक र ल्याकत देखाउँछन्‌
परतन्त्रविरुद्ध तानाबाना बुन्दै स्वदेशी भनिएका सपनाहरू
स्वयंलाई हुतिहारा बनाउन उद्यत छन्‌
समतामूलक वर्गविहीन कोरा कल्पनातीत
हावा भन्दा हलुका नौनीझैँ कोमल सपनाहरू
संगठित गर्दागर्दै अवसरमा परिणत भएका छन्‌
शक्तिशाली मानस चिन्तनका अमूल्य वैभवहरू
अवसरवादी, परिवारवादी, घोटालावादी
अन्यायी, अत्याचारी, भ्रष्टाचारी, कालाबजारी
दलाल, नोकरशाही, पूँजीपति, राष्ट्रघाती
अब फगत आरोप सावित भएका छन्‌
काफलको रुखबाट उस्तै देखिन्छन्‌
वादको राजनीति टुटफुट लुटपाटका पुर्जा हुन्‌
सामाजिक मूल्यहीन उत्पादनविहीन सपना हुन्‌
कोरा कल्पना वायुपंख हुन्‌
हिजोलाई गिज्याउँदै आजलाई ढोग्छन्‌
खुला आँखाले नदेखिने अद्‌भुत सपनाहरू
विध्वंशकारी लुटेरा पुञ्ज भएका छन्‌
मनका मानक सप्तरङ्गी सपनाहरू
बाँड्दा बाँड्दै खुइलिएका ओइलिएका छन्‌
सार्वभौम अँध्यारिदै गएका छन्‌
आशलाई निराशामा झिलमिलाहट गर्छन्‌
हिजोको लेखाजोखा माग्छन्‌
अल्झिन्छन्‌ बल्झिन्छन्‌ टुट्छन्‌ लुटिन्छन्‌
खन्ज्याङखुन्जुङ भएर ठोकिन्छन्‌
अब मान्छेहरू
सपनाका हिसाब किताब खोज्दैछन्‌
क्या गजब !

# महालक्ष्मी-०१, ललितपुर