लेख्नु थियो एक कविता
जसले
तिम्रो हृदयमा तरङ्गित प्रेमका तरङ्गहरू
कहिले मुटुमा ढुकढुक गर्दै धड्किएजस्तो
कहिले लजालु मुस्कानमा पोखिएजस्तो
अगाडि चल्न खोजेका पाइलाहरु अल्मलिँदै
कहिले भित्र बाहिर भौतारिएजस्तो
कहिले पछ्यौरीले मुख छोपेजस्तो
कहिले आँखासँग दृष्टिस्पर्श गरेजस्तो
कहिले मादक उन्मादमा लट्ठिएजस्तो
कहिले चुलबुल चञ्चलता छचल्किएजस्तो
छिनछिनमा देखिने
छिनछिनमा फेरिने
तिम्रा फरक फरक हाउभाउ
ओठसम्म नआइपुगेको तिम्रो अनुभूति
केही भन्न खोजिरहेको तिम्रो मौनता
यस्तैमा सुन्दर देखिने तिम्रा अनेकौँ आयामहरू
शब्दमा उतार्न सकोस्
जुन शब्दमा तिम्रो सौम्यता सुहाओस्, तर
भेटिन कसैगरी त्यस्ता शब्दहरू शब्दग्रन्थमा
त्यसैले मैले कविता लेखिनँ
भन न, तिमीले पस्केको अनुभूतिलाई म कस्तो भनुँ ?