तिमी
रहरहरूको आश हौ
कहरहरूमा साहस हौ
खडेरीले रुझेको आँतको झरी हौ
छताछुल्ल जीवन समेट्ने पगरी हौ
मैले
जिन्दगी सजाउने सपना देखेको छु
सपना सजाउने जिन्दगी लेखेको छु
म लेख्छु र सुनाउँछु
म लेख्छु र लेखाउँछु
दायित्व का पोकाहरू
कसिलो कसेर उक्लिएको यात्री हुँ
कतै
थल्लिएको भेट्न सक्छौ
ठेस लागेका पैतालाहरू
रक्ताम्य देख्न सक्छौ
रापले डढेर ठुटो हुन सक्छु
तापले जलेर धुलो हुन सक्छु
अन्यहरूलेझैँ
साइनो गाँसेर नछुट्टिनु
राम जपेर छुरा नरोप्नु
उनीहरू त
मलाई गलाएर पिउन चाहन्छन्
रित्तो भैसकेको छु
अझै टक्टक्याएर जिउन चाहन्छन्
तर
म यात्रा जारी रहोस् चाहन्छु
मेरा बोझहरूले
कोही नथिचियोस् चाहन्छु
उनीहरू त
म हिँडेको बाटो
पहिरो जाओस् चाहन्छन्
पैताला भासिऊन्, गहिरो खाडल होस् चाहन्छन्
तर हैन म फरक चाहन्छु
केवल उन्नत र समुन्नत चाहन्छु
त्यसैले बोकिरहेछु
कुनै घडी पक्कै बिसाउन चाहन्छु
जहाँ शितल चौतारी होस्
शिथिल मन अड्याउन चाहन्छु
जहाँ अटल छहारी होस्
चिसो सिरेटोले सुस्ताउन चाहन्छु
अनि मिठो माधुर्यले अस्ताउन चाहन्छु
आशा राख्दछु
मलाई ढाल्ने अभिलाषा निस्काम् होस्
मलाई गाल्ने अभिलाषा विश्राम होस्
उनीहरूको जय होस्
तिनीहरूको शुभ होस् ।