हजारौँ वर्षदेखि
यो जातको क्वारनटिनमा बस्दै गर्दा
कतिखेर–कतिखेर ‘विराट् पुरुष’को पाइताला
अलिकति चलेजस्तो लाग्छ
यसरी उसको पाइताला चल्दा
कतिखेर–कतिखेर
स्वास फेर्न अलि सजिलो हुन्छ
त कतिखेर–कतिखेर
प्राण नै फुत्किएलाजस्तो गरी गाह्रो हुन्छ!
सोच्छु–
मेरो निम्ति मात्रै
किन यो जातको क्वारन्टिन बनाइएको होला ?
किन मलाई मात्रै समाजबाट
अलग्याइएको होला ?
किन मलाई मात्रै यो ‘अछुत’मा खसालिएको होला?
किन यो क्वारन्टिनमा जीवनभर एक्लै बस्नुपर्ने होला मैले?
म जन्मनुअघिदेखि नै
तम्तयार छ–मैले बाँच्नुपर्ने जातको क्वारन्टिन
अरूलाई नछोइकनै
एक्लै नाच्नुपर्ने जातको क्वारन्टिन
लाग्छ–मेरो जन्मपूर्व नै
‘कोरोना संक्रमित’ बनाएर
यस पृथ्वीमा पठाइएको छ मलाई
कस्तो आश्चर्य!
बाँकी शरीरलाई कतै नछोइकिनै
केवल सेवा गर्न र आदेश मान्न
पैतालाको रूपमा खटाइएको छ मलाई !
म स्वस्थ छु
कसैलाई मैले छुँदैमा कोरोना सर्दैन
मैले छोएको खाँदैमा कोही पनि अकालैमा मर्दैन
नपत्याए मेरो पिसिआर टेस्ट गरियोस्
र, रिपोर्ट हेरियोस्
अनि यो जातको क्वारन्टिनबाट मलाई
सदासदाका निम्ति बिदा गरियोस्!
उक्त बिदाइमा
विराट् पुरुषको हृदयमा प्रेम कोरियोस्
उसका नयनमा पश्चातापको आँसु भरियोस्
भिडियो रेकर्ड गरी उक्त बिदाइको
हेरियोस् सयौँ वर्षपछि त्यो!
+++
यसो हेर्छु–
‘विराट् पुरुषका’ पाइला टक्क रोकिएका छन्
‘शूद्र’का टाउका तिनकै चरणमा ठोकिएका छन्
र पनि तिनैद्वारा ‘विराट् पुरुष’ बोकिएका छन्
तर, तिनकै निधारको सबै भाग्यरेखा मेटिएका छन्
+++
हे ! विराट् पुरुष
तपाईं अब हिँड्नुप-यो
जातको यो दुर्गन्धित दलदल
र, छुवाछुतको यो कालो कलङ्क
तपाईंले सधैँका लागि छोड्नुप-यो
तपाईंले पाइला चालेपछि नै
मैले कतै राम्ररी स्वास फेर्न पाउँछु कि?
अलि पर पुगेपछि
कतै न्यायपूर्ण समाज हेर्न पाउँछु कि?
यो ‘अछुत’ जीवन कतै फेर्न पाउँछु कि?
+++
तर ख्याल राख्नुहोला महोदय
यदि हजुर पाइला चाल्नुहुन्न र
जातको क्वारन्टिनबाट निस्कन यदि पाउन्नँ भने
तपाईंलाई ‘आइसोलेसन’मा राखेर
राम्रोसँग ‘उपचार’ गर्नुपर्ने हुन्छ
तपाईंको हृदय अनि रगतको कणकणमा
मानवताको प्राणवायु राम्रोसँग भर्नुपर्ने हुन्छ
अन्यथा जातको क्वारन्टिनकै कारण
अकालमै मर्नुहुनेछ तपाईं
र वर्णाश्रम–विषाणुकै कारण
बिस्तारै सड्नु हुनेछ तपाई !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।