उस बेला
कुनै कालखण्डमा
त्यति धेरै बिग्रने
अवसरहरू हुँदा हुँदै पनि
म किन बिग्रिइनँ ?

मलाई पछुतो छ
म किन अनुशासन
र इमानदारीको घेराभन्दा बाहिर उछिट्टिइनँ ?
उनै साथीहरूको लहलहैमा लागेर
गलत बाटो किन रोजिनँ ?
पढाइ नै सब थोक हो भन्दै
मैले किताबको रटाइ मात्र लगाइरहेँ
किन कहिले आफू हिँड्ने बाटो भुलिनँ ?

अवसर त मलाई थुप्रो नआएका होइनन्
हरेक पाइला, हरेक दिन अनि हरेक साल
अवसर नै अवसरहरूले घेरिएकै त थिएँ
जहिलेदेखि आफूले आफूलाई
बालिग कहलाउन थालेँ
तहिलेदेखि नै मैले
सही र गलत छुट्ट्याउन जानेकै त थिएँ
र पनि म किन बिग्रिइनँ ?

गलत बाटो हिँडाउन खोज्ने सङ्गतियाहरू
नभेटिएका पनि त होइनन्
स्कुलदेखि कलेज
कलेजदेखि विश्वविद्यालयसम्म आइपुग्दा
हरेक चरणमा भेटिएकै त थिए
तैपनि म किन बिग्रिइनँ ?

आखिर, सम्पन्नता र भोगविलासलाई नै
प्रगति मान्ने हो भने
त्यसरी नै बिग्रिएका मेरा सहपाठीहरू
वर्षौँदेखि
कोही सम्पन्न
त कोहीले विलासी जीवन बिताइरहेकै छन्
कतिपयले झन्
आफूलाई आमूल परिवर्तन गर्दै
राजनैतिक प्रभुत्व
र हैकम जमाएर बसिरहेकै त छन्

ल त्यो पनि होइन रे !
यदि सन्तुष्टि र सुखमय अवस्थालाई
जीवनको प्राप्ति मान्ने हो भने
त्यो पनि त मसँग छैन

मलाई अहिले पछुतो लाग्छ
वर्षौँसम्मको अध्ययन, लगन, परिश्रम
र धैर्यको बाबजुद
आखिर, के छ त मसँग ?
छ त केवल उही असम्पन्नता, असन्तुष्टि, दरिद्रता
र त्यही ‘पढाइ’ !
जस्ताको तस्तै त छु म
अन्तत: जहाँको तहीँ त छु म

किताबका पाना पल्टाउँदा पल्टाउँदै
शिक्षादीक्षाको अपेक्षित परिणाम कुर्दाकुर्दै
जिन्दगीको आधाउधि कालखण्ड त गुज्री नै सक्यो
अझ पढिरहेकै त छु म
अफसोच !
अझै पढिरहेकै त छु म ।

०००

मुसिकोट-१, रुकुम (पश्चिम)