छिमेकीहरू सबै एकै खाले हुँदैनन्

छिमेकीहरू सबै मनपर्ने हुँदैनन्

 

मेरो घरको नजिकैमा अर्को एउटा घर छ

मेरा आत्मीय छिमेकीको पुरानो घर

तर बातचित हुँदैन कहिल्यै ऊसँग

उसलाई देखेर म त मुसुक्क हाँसिदिन्छु

तर मलाई देखेर ऊ पटक्कै हाँस्दैन

 

ऊ आउँदैन मेरो घरमा कहिल्यै

म पनि गएको छैन उसको घरमा

कहिले काँही मेरो रातो कुकुर गएर सुतिदिन्छ

उसको फराकिलो आँगनको घाँस माथि

त्यसरी नै, उसको घरको सेतो बिरालो आएर

खोजिरहन्छ खाने कुराहरू

मेरो घरको कुना कुनामा

 

म उसको बिरालोलाई लट्ठीले हिर्काउदिनँ

ऊ पनि हेरिरहन्छ मेरो कुकुरतिर एकोहोरो

यता दुवै घरका नानीहरू खेलिरहन्छन्

बेलुकीपख भेला भएर एकैसाथ

कहिले मेरो आँगनमा, कहिले उसको आँगनमा

अनि साँझ अघि नै फर्किएर जान्छन्

आ- आफ्नो घरतिर नाच्दै, रमाउँदै

 

निर्बोध केटाकेटीहरूलाई के पो थाहा छ र

कहाँ गएर टुङ्गिन्छ कसैको लामो छायाँ

कि त किन लगाइन्छ घर अघि बलियो तगारो

एउटै घरमा बसेको जसरी हुर्किदै जान्छन्

विचार, बुद्धि र आन्तरिकतामा टमक्क बाँधिएर

 

जब ठुलो भएर अर्कै ठाउँमा पुगेका हुन्छन्

बस्नेछन् उनीहरू पनि कसैको घरको नजिकमा

र छिमेकी हुन् पुग्नेछन् कसैको सहारा बिना

विस्तारै बढ्दै जान्छ दुवै घरको दुरत्व

अनि नचिनिने हुनेछन् वल्लो घर – पल्लो घरमा बसेर

 

हाम्रा हजुरबाहरू

एकसमयमा आफ्नै घर जस्तो सम्झिन्थ्ये

छिमेकीको घरलाई पनि

तर अचेल एउटै घरभित्रका कोठाहरूमा

धेरै जना छिमेकी बास बसिरहेका हुन्छन्।

 

————-+++++————

तेजपुर, असम, भारत