गरिबी मेटिनुपर्थ्यो क्रमिक
र पुग्नुपर्थ्यो
खाना नाना र छाना
तर ज्यूँका त्यूँ छन्
देशमा गरिब बेरोजगार र श्रमिक

स्वदेशमा काम छैन
कामको उचित दाम छैन
कामको लागि विदेश जान विवश छन्
युवायुवती
राखेर धितो बन्धक घर
कि त बेचेर खेती

मानिसहरू विदेश जाँदैनन् रहरले
जान्छन् बाध्यताको कहरले
छोराछोरी पढाउने रहरले
जहान परिवार पाल्न करले
त्यागेर घर
रामहरू
लक्ष्मणहरू
सीताहरू
रोजगार गर्न पासपोर्ट बोकेर
सात समुद्रपारि हवाई जहाज चढेर

स्वदेशजस्तो विदेश हुँदैन
सीताहरू रावणहरूद्वारा हरण हुन सक्छन्
सीताहरूलाई द्रोपदीलाई जस्तै
कौरवहरूले चिरहरण गर्न सक्छन्
र सक्छन्
सुयोगवीरहरूले सकम्बरीलाई जस्तै
ओठ डाम्न
मार्न

परभूमिमा रामहरू मर्यादित हुन पाउँदैनन्
लक्ष्मणहरूले भातृत्व देखाउन सक्दैनन्
बस्
खटिनु पर्छ
जोतिनु पर्छ
बेपर्वाह घोटिनु पर्छ
हातखुट्टालाई मेसिन बनाउनु पर्छ
पसिनाले नुहाउनु पर्छ
आँसुले मुख धुनु पर्छ

यदि खान नपरे सकस र हन्डर यति
विदेशिन नपरे युवायुवती जति
देशमै स्वरोजगारको अवसर भए
युवायुवती उन्मुक्त हुन्थे
भन्थे
मेरो देशमा छैन कामको भय
नेपाल देश जय जय जय ।

————————
भक्तपुर