कति गाह्रो छ यो प्रतीक्षा
कति सकस छ कुर्नलाई
मसँग भेट्न नपाउँदा
तिमीलाई पनि
गाह्रो भएको छ कि ?

तिमीलाई पनि
दुखाउँछ कि मेरो अभावले ?
थकाउँछ कि
मेरा सम्झानाले ?
भन न, गलाउँछ
मेरा यादहरूले
तिम्रा यादले
मलाई गलाए जस्तै गरी !

तिमी आउने बाटो कुर्दाकुर्दा
थाकिसकेका छन्
मेरा आँखा
तर पनि यताउता हेरिरहन्छन्
परपर क्षितिजसम्म
तिमी आइहाल्छौ कि भन्ने आश बाकेर

कति थाक्दा हुन् आँखा चारैतिर डुलेर आउँदा
तर अहँ केही भन्दैनन् मलाई
न त गुनासो पोख्छन्
मलाई भन्दा धेरै हतार
यी आँखालाई छ तिमीलाई हेर्ने

तिम्रा आँखामा आफूलाई नियाल्ने
रहर लुकाएर चुपचाप
तिमीलाई खोज्न
भौँतारिइरहन्छन्
डाँडाकाँडा वनपाखा
गोरेटो दोबाटो माथिमाथिसम्म
तिमी आउँदैनौ भन्ने थाहा पाएर पनि
किन डुल्छन् यी आँखा तिमीलाई खोज्न ?

पर्खाइमा म र मेरा आँखा मात्रै होइन
अंग प्रत्यङ्ग्य थाकेका छन्
फतक्कै गलेका छन् खुट्टा
तिम्रो कदममा कदम
मिलाएर हिँड्न नपाउँदा
तिमीलाई छुन नपाएर
हातहरू शिथिल छन्

अव्यक्त प्रतीक्षा बोकेर
बसेको छ ओठ पनि
प्रतीक्षाका बाध्यता मुटुमा
गाँठो बनेर बसेका छन्
आफ्नै मुटुको धड्कनले
सताउँछ अचेल मलाई

अब सायद तिम्रो हातले
फुकाएपछि फुक्ता हुन्
मन मुटुका गाँठाहरू

पर्खाइ पनि नदुखेर मिठो हुनु नि
तिम्रो मायाजस्तै
तर साह्रै गाह्रो छ कुर्नलाई
कहिले सकिएला मेरो यो प्रतीक्षा ?