मनिराम मञ्जिल

तिमीले बिर्संदैमा इतिहास मेटिँदैन
कुनै दिन शहर पसेर
गाउँ बिर्सिएका थियौ
अहिले परदेश पुगेर
आफ्नै आमालाई पनि बिर्सिरहेछौ
जुन माटोमा पहिलो पाइला टेक्यौ
त्यही माटोलाई बिर्सिएर
हराइरहेछौ परदेशको रङ्गीन दुनियाँमा
समुद्रको नुनिलो पानीमा पौडदै गर्दा
सम्झिएनौ खहरे र आँधिखोलाको चिसो पानी
अग्ला टावरहरूलाई गगनचुम्बी देख्ने तिम्रा आँखाहरूले
सगरमाथाको उचाइ कहिल्यै देख्न सकेन

आजभोलि तिमी पीआरको सपना देख्छौ
ग्रिन कार्डको सपना देख्छौ
देख्छौ डीभी परेको र स्वदेश छोडेको सपना
हो तिमी सपनामा पनि परचक्रीको
आँगन ताकिरहेका हुन्छौ
तिम्रो सपनामा डाँफे कहिल्यै नाचेन
तिम्रो सपनामा हिमाल कहिल्यै हाँसेन
तिम्रो सपनामा गुराँस कहिल्यै मुस्कुराएन
तिमीले त सपनामा पनि कहिल्यै आफ्नी
आमा हाँसेको देखेनौ, कहिल्यै रोएको देखेनौ
किनकि भौतिक सुखको लालसा र तुवाँलोले
तिमीले चिन्न छोडेका छौ आफ्नै आमाको अनुहार
देख्न छाडेका छौ हिमालको अनुपम सौन्दर्य…

सुन्छु, गौतम बुद्धको भूमिबाट टाढा
परदेशका शहरको कोलाहलमा
रमाउने मिथ्या प्रयास गर्दै छौ रे
परदेशका चिल्ला र फराकिला सडकहरूमा
तिमी मनलाग्दी हिँड्न सक्दैनौ
साँघुरै भए पनि स्वदेशका गोरेटोहरूमा
तिमी निर्बाध दगुर्न सक्छौ, उफ्रन सक्छौ

समृद्धिको यात्रा गर्दागर्दै
गोरेटोमै अलमलिएको छ देश
आऊ एउटा उचित मार्ग कोरौँ
देशको समृद्धिका निम्ति
परदेशको भौतिक सुखभन्दा
कयौं गुणा आनन्दमय छ स्वदेशको आफ्नो पन
प्रदेशको झिलिमिली भन्दा
धेरै उज्ज्वल छ स्वदेशको उर्वरता
यो उर्वर माटो, जसले पर्खिरहेछ
तिम्रो परिश्रमी बाहुबल
पर्खिरहेछ तिम्रो निधारबाट बग्ने
पसिनाको सिँचाइ
पर्खिरहेछ तिम्रो सृजनाको सुगन्ध
पराइको काखभन्दा धेरै प्यारो हुन्छ
आफ्नै आमाको कोमल स्पर्श ।