नामर्द चिता कति डढाउँछस् निरीह मुर्दा !
जो मट्टीसमान छ
जसले केही बिगार गर्दैन
जसले छलछाम गर्दैन
जसले घातप्रतिघात जान्दैन
जसले बाँच्न चाहनेलाई जिउँदै मार्दैन

ए चिता !
मट्टीलाई मट्टीमै मिलाएर कति फुलाउँछस् ढुकुरे छाती
कति बनाउँछस् घिरौँले नाक
कति देखाउँछस् पुरुषार्थ
कति बिछ्याउँछस् दम्भका तन्ना !

ए चिता !
म पत्याउँछु तँलाई त्यतिबेला
जति बेला तँ मुर्दा छाडेर जलाउँछस् जिउँदा जब्बर
जति बेला जलाउँछस् बेथिति र भ्रष्टाचारका महल
जति बेला जलाउँछस् सामन्तवादका करङ
विभेद र निरङ्कुशताका बादशाह
सत्ताका साँढे
न्यायालयका नरपशु

ए चिता !
आतङ्क जिउँदाबाटै
कुटपाट जिउँदाबाटै
लुटपाट जिउँदाबाटै
हत्याहिंसा, बलात्कार जिउँदाबाटै
बेइमानी, भ्रष्टाचार जिउँदाबाटै
विध्वंश जिउँदाबाटै
गद्दारी, असमझदारी जिउँदाबाटै
तसर्थ म त्रसित छु जिउँदाबाटै

ए चिता !
म डराउँदिन मुर्दासँग
मुर्दा बस्तीमै कुहिन दे
डुङ्डुङ्ती गनाउन दे
गिद्ध र स्याललाई मासु लुछ्न दे
झिँगालाई मुर्दामा भन्किन दे
जसबाट दुनियाँले देख्नेछन् जीवनको अन्तिम गति
जीवनको क्षणिकता
मृत्युको शाश्वत सत्य
सिक्नेछन् जीवको अर्थपूर्ण परिभाषा
फरक बुझ्ने छन् मान्छे र गिद्धको
मान्छे र स्यालको मान्छे र झिँगाको

ए चिता !
तँसँग मेरो फिराद
च्यातिदे तेरो पुर्ख्यौली सुलहपत्र
नपोल् मुर्दा पोल् जिउँदा जब्बर
पोल् जिउँदा जालन्धर
पोल् भड्किरहका शकुनि आत्मा पोल्
लङ्काधीश रावण
बिन्ती नपोल् मुर्दा
मुर्दा बस्तीमै रहन दे
मुर्दा बस्तीमै कुहिन दे ।

काशी निर्दोष
सत्यवती –१,रामबारी ,गुल्मी
हालः सुनवल—७, नवलपरासी