आमाले भनेको कथा जस्तै:
कर्म अनि भाग्यको कुरा
मभित्र प्रश्न रसाउँछन् र सुक्छन् पनि
त्यो निराकार कालो रात समान
जहाँ उडेको जूनकीरी त्यसको बाधक बन्न पुग्दछ
कराईमा भुटेको मकै जस्तै,
पाके, डढे
कुनै फूला उठेर भुइँमा उछुट्टिए
कुनै नपाक्दै भुइँमा झरे
भाग्य लेख्ने विधाताले कर्म लेख्न बिर्सियो वा
आधा अपुरो नै छाडेर गयो
सायद भावि हतारमा थियो
प्रस्नोत्तर जारी छ
म हिजो पोखिएको दूध सम्झन्छु
आकाशबाट झरेको शितको थोपा,
कर्कलाको पातमा अड्किएको छ
ऊ अबोध छ, जसको कुनै आवाज सुनिँदैन
ऊ क्रान्ति चाहन्छ
अन्यायबाट मुक्ति चाहन्छ
ऊ स्वतन्त्रता चाहन्छ
यो कस्तो थियो
सायद यो स्वप्न संसारको परिकल्पना मात्र थियो
जे होस् भाग्य समय हो
मभित्र कताकता आनन्द भएको अनुभव पाएँ
सायद मैले उत्तर पाएँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला