महाभारतको युद्ध गरेर आएका शकुनीहरू
गरिबको रगतले अक्षता लगाए
खाण्डव वनको बस्तीभित्र
निर्दोषको गिदी झिकेर
टाउको व्यापार गरे
निर्दोषको आँसु को व्यापार गरे
विजयको उत्सव मनाए
के के गरेनन् उनीहरूले
पाठशालाको चकलाई बारुद बनाए
निर्दोष गुरुलाई फाँसी लगाए
अक्षर नचिनेका युवालाई बन्दुक दिए
बन्दुकले जागिर खाने प्रमाणपत्र दिएन
बन्दुक सँगै जवानीमा खिया लागेका युवा
देशको लागि अयोग्य बनेर खाडी पसेको छन् ।

युद्धमा हात,खुट्टा गुमाएका योद्धाहरू
मृत्यु पर्खेर बसेको छन्
युद्धमा छोरा गुमाएका आमाहरू
लास वा सास को प्रतीक्षामा छन्
युद्धमा सहिद भएकाको परिवार
अहिले मसानघाट भएको छ ।

कतिले छोरा छोरी गुमाए
कतिले श्रीमान र श्रीमती गुमाए
कतिले बाआमा गुमाए
कतिको परिवार टुक्राटुक्रा भए ।

अरुको परिवार टुक्राटुक्रा बनाउने
महासामन्तहरू
अहिले आफै सिसा झै टुक्राटुक्रा भए ।

गरिबको बलिदानले गणतन्त्र आयो
गरिब सधैँको गरिब भए
तर
जनता सबै बराबर बनाउँछौ भन्ने
तिनको मालिकहरू
चप्पल लगाएर सिंहदरबार छिरे
कुबेर भन्दा धनी बनेर निस्किए ।

अहिले धनको सगरमाथाबाट हेर्दै
सहिदको परिवारलाई भन्दै छन्

न त समाजवाद ल्यायौँ,न त मार्क्सवाद
सत्ताले त हामीहरूको त्रिनेत्र खुल्यो
अहिले पूँजीवादको
नातावादको
धृतराष्ट्र भएर सत्तामा बसेको छौं ।