सम्झना पनि बैजनी हुन्छ

तिमीलाई सम्झिँदा ।

 

अझै याद छ–

अन्तिम पटकको भेटमा

बैजनी रङको कपडामा

सजिएर आएकी थियौ तिमी ।

 

सम्झनाको आँगनीमा समेत

यदाकदा भेटिने गर्दछ्यौ तिमी अचेल

तिमी भेटिँदा तर

केशरको फूल झैं बैजनी रङमा फुल्दछ

लगभग रङ्गहीन भइसकेको मेरो मन पनि ।

 

तिमी भेटिँदा

बैजनी हुन्छ– तिमी र म हिँड्दै गरेको बाटो

बैजनी हुन्छ– तिमी र मैले छुँदै हिँडेको माटो

बैजनी हुन्छ–तिमी र मैले सँगसँगै तरिहिँडेको नदीको पानी

बैजनी हुन्छ– तिमी र मलाई सँगै छुन दौडिहिँडेको प्रकाश…

 

भेट त भेटै हो आखिर

सम्झनामै किन नहोस् !

 

उही समय र उस्तै परिवेश

तर फरक फरक ठाउँमा उभिएर

हामीले हेर्दै गरेको आकाशको नीलो रङ पनि

एकाएक बैजनी हुन्छ

तिमीसँगको भेटमा त !