ऊ घाम पानी छेक्न असमर्थ छ
छानोका पत्थरहरू झर्न थाली सके
धमिराले स्याहारी राखेको धुरी
कतिबेला झर्छ थाहा छैन
छानो सदाबहार चुहिरहन्छ
जीवनभर अन्न थुपारेका भकारीहरूमा
बुर्की भर अन्न छैन

आमाले सक्खर लुकाएर राख्ने डालोमा
मुसाको घर छ
लुकामारी खेल्दा लुक्ने भकारीको कुना
अहिले सुनसान छ
पूजाकोठाको गणेशको मुर्ति एक्लै बसिरहेछ
मैले सधैँ बसेर ..
“घाम दिदी वरवर बादल भिना परपर” भन्ने झ्याल
मणि बिनाको नाग भएको छ
धुँवाघर (चिम्नी) बाट धुँवा ननिस्किएको पनि वर्षौं भयो

ऊ एक्लै एक्लै गीत गाउदो हो
“१६ वर्षे उमेरैमा मैँ पनि झिल्के हुँदो हुँ
अहिले पो बूढो भैयो र !! सै सै ।”
“त्यो परदेशी सानो छँदा मेरै काख अनि पिठ्यूँमा
अहिले पो बिरानो भयो र !! सै सै ।”

हिमचुलीको हावासँग
मलाई रैबार पठाउँछ
तिम्लाका पातहरूमा पोको पारेर
मेरो बाल्यकालको सम्झना पठाउँछ
आकाशका तारा टिप्न हिँडेको परदेशीलाई
धरातल सम्झाउँछ

दिनभरि यादहरूको मलामी जान्छ
कुरुप अनुहार बटुवाले देखे के भन्लान् भन्ने पीरमा हुन्छ
रातमा सुस्ताउन खोज्दा
गाउँभरिका जँड्याहाहरू आएर
जाँड खाई
बोतलहरू फुटालेर जान्छन्

म परदेशिएसँगै
मेरो घरको सुरक्षा परदेशियो
सिन्दुरझैँ भित्तामा पोतिएको रातो माटोको रङ परदेशियो
नारीको मेहेन्दीझैँ उसको कमेरो परदेशियो
मेरो घरसँग बाकी छन् त केवल
अस्थिपन्जरझैँ ती ढुङ्गाहरू
अनि मसँग यादहरू

अब एकचोटि आएर दैलोलाई ढोग्न मन छ
र आशीर्वाद माग्न मन छ‑
“अबदेखि पेट पाल्नकै लागि खाडीमा पसिना बगाउन नपरोस् ।”

 

दार्चुला