सन्नाटाको बादलले ढाकेको
रोदीघरको बलेंसीहरू
खरी झरेर बुढो भएको मादल
टुटेको, फुटेको अधवैंसे बाँसुरी र मुरली
बत्तीस किला खुस्केर थोते भएको पुरानो डम्फु
बा-आमा गुमाएका
सहारा विहीनको टुहुराजस्तै
सुने, मुने, जुने कम्मर मर्काएर
बिर्सेको छ नाँच्न
कुइनेटोमा कान्छी कुरी बस्ने कान्छा
वसन्तलाई पर्खी बसेको बेली-चमेली
घोप्टे युगको सेतो बादल बसेको आकाशमा
लेखी पठाउने खबरले
भेटहरू छुटेको छ
प्रेमहरूबीच बाटोमै बिछोडिएको छ
ओठमा फक्रिने मृदु मुस्कानहरूमा
खडेरी परेर
फूलहरू आगो बनेर बल्दैछ
बिर्सदै गएको छ आदिम जुग
मान्छे बिगार्ने घोप्टे युग !
****************
नजिकको आफ्नाहरू भएका छन् बिरानो
बिरानोको अन्जानहरू बन्दैछ सहारा
आफ्नै कोठा एकलास निरस निर्जन
घोटे युगको एक हुल मान्छेहरू
काँचको फ्रेमभित्र
जीवन आदर्शको बखान गाउँदैछ
जीवन उपहार दिएको
बा-आमा
एउटै घरमा बसेको मान्छेहरूसँग
भेटेर बहकिँदै बोल्न झ्याउ मान्छन्
म्यासेन्जरबाटै हाई हलो भन्न रुचाउँछन्
घर परदेशजस्तो भएको छ
एकले अर्कोमा बाँड्ने प्रेम
घोप्टे युगको पर्दामा
“मिस यु” र “सियु सुन”मा अल्झेको छ
भुल्न खोज्दैछ, सुख-दु:ख
मान्छेलाई एक्लै बनाउँदै गरेको
डरलाग्दो घोप्टे युग !!
*************
घोप्टे युगको प्रारम्भले
भेटेर सहानुभूति दिनुपर्ने बिरामीलाई
“गेट वेल सुन”मा राखे सीमित
शाश्वत मृत्यु अंगालेर जिन्दगीबाट मुक्ति लिएर
ढलेको जुनीको मलामी बनी
घाटसम्म पुग्नु पर्नेहरू
“रेस्ट इन पिस” लेखेर
सम्बन्धको कालो काँचो धागो छिनाए
फुक्का हुँदैछ
वर्णन गर्न मुस्किल
घोप्टे युग !!!
********
शिर ठाडो बनाएर हिँड्ने बानी बिगारेको छ
मुन्टो निहुरिएको छ
हेर्नेलाई देखाउने होडबाजीमा
आफू नाङ्गेको छ
चरित्र नदेख्ने क्यामेरामा बासी
फिल्टल भएको अनुहारले
सरलक्क नैतिक मर्यादा निलेको छ
बगर खोलाको बाँधमा पौडिन भुलेको छ
गुलेली मट्याङ्ग्रा बोकी जंगल धाउन बिर्सेको छ
डन्डीबियो- लुकमारी खेल्न छोडेको छ
पब्जी र क्याण्डी क्रस घोप्टे खेलको जितमा
अमर र भक्तिको जस्तै
वीरता खोजी गर्दैछ
खै विज्ञानले सृष्टि गरेको कस्तो जुग
राम्रो हो कि नराम्रो
मान्छेलाई एकलकाँट्टे बनाउने
घोप्टे युग !!!

000 0000 0000

पाँचखाल, काभ्रेपलान्चोक
हाल: लिमासोल, साइप्रस