बीस वर्ष अघिको त्यो सुखद् भेटमा
मलाई,आफू नजिकै तानेर भनेको सम्झन्छु—
“मसँग पनि एउटा फोटो खिँच्नु पर्छ तिमीले !”
तानसेन श्रीनगरको त्यो खुल्ला चौर…
र, सल्लाका पातहरूमा चिप्लिएर
लड्दै लड्दै गइरहेका बतासहरू…
अहो !
अभिनेत्री मिनाक्षी आनन्दको लाम्चो अनुहारमा
नयाँ खेलौनामा रोकिएका केटाकेटीका आँखाजस्ता
कैद थियो— कुनै रूमानी युवकजस्तो लजालु घाम
स्मृतिको टेबलमा राखेर आफूलाई
आफ्नो लामो र कालो कपालमा
चुरोटका खिलीजस्ता सग्ला औँलाहरू घुसार्दै भन्थिन्—
“सिन्दुर फिल्मको सुटिङ यहीँ थियो मेरो
र, नचाइरहेका थिए मेरो नायकले, यहीँ चौरमा मलाई ।”
विश्व बस्नेतको जस्तो लयदार कपाल
अग्लो कद र नायिका फकाउने
जादुयी अभिनय वा अरू कुनै कला कहाँ हुनु मसँग ?
साँझको रेष्टुराँमा
आफैँलाई मताएकी मिनाक्षी आनन्दको ओठमा टेकेर
पहाडी बटुवाझैं अरू कति रङ्गीन स्मृतिहरू उक्लँदै थिए
त्यसको कुनै हेक्का सुरक्षित राख्न सकिनँ पहिले !
यत्तिका वर्षपछि…!
एउटा सुरक्षित फोटोले, सम्झने कोसिस गरिरहेछु अहिले
कि मिनाक्षी आनन्द भेटिएकी थिइन् कुनै बेला तानसेनमा
र, म लजाउँदै-लजाउँदै तयार भएको थिएँ
— उनीसँगै एउटा फोटो खिचाउन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










