चिहाउँदै छन् अझै- उसैगरी
कुटुलकाेसाका झाँगमा अल्झिएका
बाल्यकालका केही थान यादहरू ।
नसम्झूँ त – न्यास्राेले यसै यसै अतालिने
अम्मलीकाे तलतलजस्ता -मीठा,मत्याइला स्मृति
स्वासकाे ओहाेरदाेहाेरसँगै मिसिएर
कलेजी कुनाभित्र गढेका
ती कलिला – आफ्नै कथा जस्ता
थाेरै तम्तमाइला – थाेरै स्वादिला
दुरुस्तै कुटुलकाेसाझैँ छन्
यी कुटुलकाेसे यादहरू ।
वसन्तका साँझहरूमा
सीम खेतमा बतासले बयेली खसालेपछि
मुसुराेका स-साना नीला फूलहरूसँगै
मस्किँदै झुत्ति खेलिरहेछन्
सम्झनाका रंगिन पुतलीहरू ।
खेसारीकाे परेली हाँगाहरूमा
माेतिझैँ उनिएका शीतका थाेपाहरूमा
अहाे ! अझै पनि चम्किदै छ
ती कलिला निर्दाेष अनुहारमा देखिने
अबाेधपनकाे चहकिलाे चमक
–
सम्झनाकाे पुरानाे आलीमा बसेर
एक मेसाे – चपाइरहूँ जस्ता
अभ्यस्तझैँ पछ्याइरहेछन् अझ पनि !
थाेरै खिर्याउँदा- थाेरै रसिला
यी पन्याला – कुटुलकाेसे यादहरू ।
स्वादमा बसेकाे/ जिब्रोमै अल्झिएकाे
आमैकाे हातकाे आलाे गुन्द्रुककाे
एक्कासी छुद्दे जागेझैँ वेमाैसममा
कस्तरी भेटाैँ लाग्ने – र कहिल्यै नभेटिने
खुब प्यारा र खुब स्वादिष्ट छन् !
यी कुुटुलकाेसे यादहरू ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 






