झिकेर क्याल्कुलेटरको मस्तिस्कबाट
अंकगणितका अवयवहरू
ऊ प्रत्येक क्षण सकी-नसकी मिलाइरहेकै छ
जिन्दगीको अंकगणितको व्याकरण
तर पनि किन प्रत्येक रात
यसरी मध्य निद्रामा तर्साइरहन्छ
अंकगणितको अंके औजारले
कोपरेर
उसैको मस्तिष्कको भाडाको कोठाको संवेदना
र
चिथोरेर निद्राको विश्वविद्यालय
यो मध्यरातमा
के पढाउन खोजिरहेछ जिन्दगीमा
भर्खरै समयको ज्याला कारखानाबाट
आजाद घोषणा गरेर
थकानको घट्टमा पिसिन
लम्पसार फालिएको काँचो मासुको थुप्रोमाथि
मध्यरातमा यसरी करङको नलीहाड चिथोरेर
कुन अचकल्टो चेतना
बैंक किस्ताको म्यासेज उसको कानको जालीसम्म पठाइरहेछ
र बजाइरहेछ उसको निद्राको छुट्टीको घन्टी
स्कुलमा जस्तो छुट्टीको घन्टी बज्दा सधैँ खुसी नहुने रहेछ जिन्दगी
सुका मोहोरमा रमाइरहँदा
थानको ढुङ्गोको देवता
के ऐँजेरु पलाएको छ क्याल्कुलेटरको मस्तिष्कमा
र अंकका जहानहरू नै करकर खाइरहेछन्
उसका रगतमासीहरू
किन यसरी हुँडलेर उस्को मस्तिष्कको गैरीखेत
बाउसे खेलिरहेछन् अंकगणितका पाहुनाहरू
ओसारेर अँध्यारोको कलमी
निद्राको जरा किन उखेलिरहेको छ
समय
समय कुन आदेशले
चेतनाको इन्कुबेसन कारखानाबाट
यो मध्यरातमा यसरी भद्रगोल
अंकका चल्लाहरू नियोजितको कोरलिरहेछ
चिथोरेर थिल्थिलो मस्तिष्क
अंकगणितको कतिऔँ जन्मोत्सव मनाइरहेछ
नियोजित क्याल्कुलेटर
छोराको युरोप जाँदाको बैंकको सुकिलो ऋण
छोरीलाई अस्ट्रेलिया पठाउँदाको ऋणको कोसेली
बा-आमाको उपचारमा सहकारीमा बिक्रीमा राखिएको औँठाको कालो छाप
ढोका खोल भन्दै ड्याङ ड्याङ
ड्याङड्याङ जम्मै एकैपटक किन हानिरहेछन् मस्तिष्कको झिल्लो बाहिर
किन यसरी झेली क्याल्कुलेटर
सँगैकी श्रीमतीको मस्तिष्क अंकको औजारले
छलाछुल्ल चिरिरहेछ
ऊ प्रश्नको अस्थिपञ्जर बोकेर सोधिरहेछ
कुन विश्वविद्यालयले पढाउँछ अंकगणितको व्याकरण
कुन पाठमा लेखिएको छ
मस्त निदाउने अंकगणितका उपायहरू
ऊ जम्मै चिरिएर भित्रभित्र लगभग मृत छ
ठ्याक्कै
अहिलेको समाजजस्तै भएको छ
तर मृत घोषणा नभएसम्म
उस्को मस्तिष्कको
ऊ सोचिरहेछ
उस्ले अब कहिल्यै आरामले निदाउन पाउने छैन।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।