सरिता जागरी

कस्तो एकनासको आफ्नै लहर छ
त्यो भीरमा न त कोई टिप्न सक्छन्
देख्ने मान्छेहरू एक छिन हेरेर
आह ! कस्तो राम्रो भनेर चित बुझाउँछन्
सुगन्ध आफ्नै लहरमा दिन्छु
न त कसैले कोपिला टिप्छ भन्ने डर
न त बोट नै उखेलिदिन्छ भने डर
आफ्नै आनन्दता, आफ्नै सुरुमा
प्रकृतिलाई सजाएको छु

हावाको चञ्चलतासँग सुगन्ध छरेको छु
फूलका भुवाहरू त्यो हावाको बेगमा उडिरहेको
सुन्दरताले सजिएको इन्द्रेणीझैँ
आफ्नो सुन्दरताको आफैँ मालिक
न त कसैको शिरमा सजिनु परेको छ
न त कानमा सिउरिनु परेको छ
केवल आफ्नै मर्जीमा

कसैको गोडमेल चाहिँदैन मलाई
नत मलजल…
जंगलमा फुल्छु जंगलमै झर्छु
न त कसैले मलाई बोट लागेको थाहा पाउँछ
न त कोपिला लागेको …
न त फूल फक्रेको…
न त झरेको थाहा पाउँछ कसैले

यो भीरमा ढुङ्गाको छेउमा अडिएर
यही ढुङ्गाको छेउमा ओइलिन्छु

म नि त्यो फूल…
मान्छेहरू भन्छन् यो फूल त्यो फूल राम्रो
मलाई किन हो जंगली फूल मन पर्छ
म नि त्यो जंगलको भीरमा फूलेको
फूलजस्तै भएर फूल्न पाऊँ
न त मलाई कसैले फुलेको थाहा पाउनु
न त झरेको थाहा पाउनु
न त भएको थाहा पाउनु
न त गएको थाहा पाउनु
त्यो जंगली फूलको सुगन्धजस्तै
आह ! कस्तो राम्रो सुगन्ध
फूलको नाम थाहा नपाई सुगन्ध थाहा पाएझैँ
सुगन्ध मात्र थाहा पाउनु
त्यो फूलजस्तै नाम थाहा नहोस्
सुगन्ध, सुवास सबैलाई थाहा होस्
मेरो नि… ।