स्वर्ग गएकी आमा सपनामा आइन्
सुटुक्क एउटा उपदेश दिएर गइन्
“माइला, झुटो कहिलै नबोल्नु!”
मैले ठाडो जवाफ फर्काएँ
“त्यो मेरो समयमा सम्भव छैन, आमा!
मैले छोरालाई सुर्ती खाँदिन भनेको छु
श्रीमतीलाई बाहिर जाँदिन भनेको छु
दुई नम्बरी धन्दा गर्न
अफिसबाट काम छोडेर भागेको छु
सम्भव नभए बिरामी बिदा मागेको छु
आला काला दागहरू पखाल्न दूधले नुहाएको छु
पैसा कमाउने दाउमा देशको गोप्य कुरा
विदेशीलाई फाइदा पुग्ने गरी चुहाएको छु
झुटको खेती लगाएको छु
तितेपातीलाइ सञ्जीवनी बुटी भनेर बेचेको छु
गर्नु पर्ने नगरेर, भन्नु पर्ने ठाउँमा नभनेर
मान र पदवी पाएको छु
कर्तुतलाई सदर गर्न
मन्दिर मन्दिर धाएको छु
लुटेको सम्पत्ति दान दिएर
समाजसेवीको पदवी पाएको छु
तिमीले पनि त झुट बोलेकी थियौं
मलाई ठूलो मान्छे बनेको देखेर मर्छु भन्थ्यौ
तर, बालक मलाई यो स्वार्थी संसारमा
टुहुरो बनाई एक्लै छोडेकी थियौ ।”