तिमी भन्छौ,
विभेद बिस्तारै आफैँ हट्छ
अनि
म सम्झिन्छु,
योगमायाहरूको विद्रोह नभएको भए सतीप्रथा कसरी जान्थ्यो होला नि ?
तिमी भन्छौ,
पढेलेखेका नयाँ पुस्ताद्वारा विभेद आफैँ हट्छ
म सम्झिन्छु,
ललितपुर जिल्लालाई
देशकै पहिलो पूर्ण साक्षर जिल्ला भएर पनि आजसम्म दलित सांसदले नै किन कोठा नपाएका होलान् नि ?
तिमी खुकुरी बनिदिन्छौ, अचानोको समथर भूभाग मात्र देख्छौ
म अचानो हुँ
तिम्रो चोटहरूले जताततै छेदबिछेद भएर दुखेको छु,
म दलित हुँ
विभेदै विभेदको असरल्ल बिस्कुन मात्र देख्छु
किनकि म शोषितहरुको नजरले हेर्छु दुनियाँलाई
प्रियसाथी ! समाजलाई एकपटक मेरो आँखाबाट हेरिदेऊ न।

जब
म लेख्छु,
नवराज विक, मना सार्की, भीमबहादुर विश्वकर्माहरू ज्युँदो हुँदै पलपल मरें र, संघर्षको मैदानमा मारिए
तिमी कृश्चियन मिसिनरी भन्छौ
म सोध्छु,
पितृसत्ताको जाँतोले पिधिएका नमिता, सुनिता, निर्मला, समीक्षाहरूलाई कहिले न्याय दिने ?
तिमी डलरे भन्छौ
म मुर्मुरिन्छु,
पहाडिया राज्यसत्ताले मधेसीहरूलाई किन नागरिकको रूपमा नस्विकारेको ?
तिमी भारतीय दलाल भन्छौ
अचानो छु म, चोटैचोट भोग्छु, देख्छु
प्रियसाथी ! समाजलाई एकपटक मेरो आँखाबाट हेरिदेऊ न।