कोसेली ल्याएको छु

मैले एउटा तिम्रो लागि

तिमीलाई मन पर्ला नपर्ला

थापिदेउ अञ्जुली

धेरै भयो भनी नपोखीदिनु

थोरै भए पनि

गुनासो नगर्नु

सुनेकी त छौ ?

उहिल्यैको कुरा

आफूलाई कृष्ण सम्झिनु

मलाई सुदामा ठानीदिनु

कोसेली ल्याएको छु

अञ्जुली थापिदेऊ

म तिम्रो पसर भरिने गरि…

अँ, त्यस्तै कनिका राखिदिउँला

विश्वास छ ग्राह्य हुनेछ

 

हो आजकल

यस्तै छ यतातिर

रित्तो र छिद्रयुक्त छन्

मेरा वस्त्रका गोजीहरू

यो रित्तो गोजीले

ईष्टहरू भर्काएको छ

मित्रहरू तर्काएको छ

तर पनि

मन मन मान्दैन

ईष्ट भर्काउन, मित्र तर्काउन

कहाँ मेरो वशमा हुनु यी सब कुरा

 

सुनिदेऊ न

कोसेली ल्याएको छु

मैले एउटा तिम्रो लागि

अञ्जुली थापिदेऊ

म तिम्रो पसर भरिने गरी

मेरो अञ्जुलीभरको

मादक कनिका राखिदिउँला

भरीदिउँला प्रेम प्यालाले

तिम्रो अञ्जुली ।

 

 

तुलसीपुर, दाङ ।