ऐना

घनश्याम रेग्मी

छन्दः उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गणः त त ज गुरु गुरु
ज त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

प्यारो छ साथी सहयोग गर्छ
आँखा नतर्नू रिसराग भर्छ
उठी बिहानीपख दृष्टि फेर
आभा छरी हाँस मुसुक्क हेर ।

हेर्दै नहेरे ठिक हुन्न भन्छ
हेर्दै गरे दिक्क म हुन्न भन्छ
छ खास आशा दिलभित्र बास
हेर्दै गरे जीवन दिन्छ खास ।

सत्कर्मले भाग्य सपार भन्छ
टीका चुरा साथ खुलेर बस्छ
आत्मा सफा संयम नित्य पार
सफा रहे जीवनको छ सार।

ऐना छ मेरो प्रिय एक साथी
छ चित्त सङ्लो र अत्यन्त जाती
बिहान चाँडै उठ झट्ट भन्छ
सुमार्गमा लम्क अगाडि भन्छ ।

श्रृङ्गार गर्दा यसकै छ खाँचो
सौन्दर्यको बात निकाल्छ साँचो
उमेर सच्चा यसले बतायो
जवाफदेही रचना पढायो ।

विश्वास लाग्ने प्रिय एक साथी
यै हो अरू देख्छु समस्त घाती
ऐना छ साथीबिच उच्च साथी
लुकाउने हुन्छ सधैँ नजाती ।

रहेछ टुक्रा सब जोडिएको
लाग्यो कि ता ठक्कर चर्किएको
खाना न पानी न कुनै पिएको
एकान्तमा खै कसरी जिएको ?

निस्वार्थ सल्लाह दियो मलाई
अल्छी उता सार्न भनी लगाई
दियो खुसी जीवन बाँच्नलाई
आनन्दको जीवन हाँस्नलाई ।

बत्ती उज्यालो दिलभित्र बाल
मुहारमा खुल्छ नयाँ मसाल
ऐना नयाँ एक किनी सजाऊ
प्रकाश धर्तीभरमा फिँजाऊ ।

चितवन

यो बुद्धको देशमा ?

सिर्जना खनाल

छन्दःशार्दूलविक्रीडित
गणःम स ज स त त गुरु
विश्रामःछ र बाह्र अक्षरमा

नेपालीपन शान्त सुन्दर धरा त्यस्तै बनोस् काममा
सुन्दा कान सिरिङ्ग हुन्छ नभनून् भाषा कलाकारमा ।
उड्ने प्वाँख छ उड्छ दूर कसरी च्याप्पै भए मेचमा
देख्दै लाग्छ अचम्म आज किन हो यो बुद्धको देशमा ?

राम्रो मार्ग खुलस्त पार्छु म भनी बोल्नेहरू हो सुन
आफ्नो मात्र सधै अनेक गफ ती खोल्नेहरू हो सुन
तारो झार्न कहाँ र झर्न छ यहाँ विश्वास होस् भेषमा
देख्दै लाग्छ अचम्म आज किन हो यो बुद्धको देशमा ?

औँलो उठ्छ भने विना कसुरमा त्यो दृष्टि के सार हो ?
हाँसो फुट्दछ चोटमा यदि कतै त्यो नै त्यहाँ हार हो ?
पाई साथ फराकिला हृदयका नाच्ने भए केशमा
देख्दै लाग्छ अचम्म आज किन हो यो बुद्धको देशमा ?

अन्धासामु हरिन्छ प्राण मनुको त्यो चाल के चाल हो ?
खुट्टा तान्न दिँदै छ साधन कुनै त्यो साथ के साथ हो?
पीडा दर्द ठुला ठुला नजरले हेर्दा दबे आँतमा
देख्दै लाग्छ अचम्म आज किन हो यो बुद्धको देशमा ?

छाडा छन् सब यी चुनाव जितिने नेता सबैका मन
चिन्ताग्रस्त भएर दैनिक रुने छन् देखिएका जन
चुन्छन् फेरि यिनै सधैँ किन यता मान्छे यिनै शेषमा
देख्दै लाग्छ अचम्म आज किन हो यो बुद्धको देशमा ?

सारा शान्त भएर क्लान्त जनका छामे हुने धड्कन
सारा गौरवमा भए पछि मजा हुन्थे खुलेका पन
नारा मात्र छ है समान हुनुको यो भिन्नता भेकमा
देख्दै लाग्छ अचम्म आज किन हो यो बुद्धको देशमा ?

भैरहवा

 

हाम्रो गुरुकूल

समीर पंगेनी

छन्दःशार्दूलविक्रीडित
गणःम स ज स त त गुरु
विश्रामःछ र बाह्र अक्षरमा

चारैतर्फ छ बोट आँपदलका सौन्दर्य यो ठाँउमा
हुर्किन्छौ दिनका हरेक क्षणमा संस्कारकै ज्ञानमा ।
एकैनास लुगा लगाइ दिनकै घुम्छौं लिई पुस्तक
भाषा वेद र लेख गीत रचना पढ्छौ असाध्यै सब ।

गुन्जिन्छन् जब वेदका स्तुतिहरू प्रातः निशा कालमा
आनन्दात्मक बन्दछिन् प्रकृति यो उत्साहको भावमा
उठ्छौं ब्रह्ममुहूर्तमा दिनदिनै स्नानादि कार्य सकी
गर्छौ मन्दिरमा पुनी समयमै संध्यादि ध्यानै पनि ।

एकैसाथ बिहान साँझ सबले गर्छौं सधैँ भोजन
पढ्ने सोच ठुलो छ पढ्नतिर नै गैहाल्छ हाम्रो मन
सब्जी यी हरिया सधैँ घरतिरै उब्जाउने गर्दछौँ
जे–जे छन् गृहकार्य ती समयमै हामी सधैँ गर्दछौं ।

त्यो मृत्युञ्जयको छ उत्तर महा यौटा ठुलो मन्दिर
गौशाला अनि धेर वस्तुगणका बस्ती छ पूर्वैतिर
सुत्ने पश्चिममा ठुला भवन छन् यौटा छ भान्साघर
पढ्ने दक्षिणमा खुबै भवन छन् यौटा छ कार्यालय ।

मायाले नि पढाउने दिनदिनै छन् शिक्षिका शिक्षक
हाम्रो साफ छ मित्रता गजबको देखिन्छ राम्रो खुब ।
यस्तो ठाँउ भुलेन यी नयनले लादैन आँखा कतै
बस्दा यो गुरुकूलको वरिपरी मान्दैछु यो स्वर्गझैँ ।