
र्याप गायनबाट चर्चा आएका बालेन काठमाडौँको मेयर बनेपछि सधैँ चर्चाको केन्द्रमा छन् । कविता लेख्ने र र्यापका माध्यमबाट कविता भन्ने बालेनले पछिल्लो समय पनि कविता लेखिरहन्छन् । कविताकै माध्यमबाट सङ्घीय सरकारलाइ व्यङ्ग्य र प्रश्न गरिरहन्छन् । प्रस्तुत छ, बालेनले पछिल्लो समयमा समाजिक सञ्जालमा लेखेका तथा अत्यधिक रूचाइएका पाँच कविताः
===
१.
देश युवा बेच्दैछ,
युवा, देश बलेको आगो सेक्दैछ,
हामी ताप्दैछौँ,
ओली, प्रचण्ड, देउवा,
संसारकै विद्वान् भएको देशको इतिहास लेख्दै छन् ।
र, हामी चेत्दैनौँ ।
२.
आज हरेक समाजमा एउटा
असक्षमको अपमान हुन्छ ।
बिलौनाको आवाजमा एउटा
बालिकाको कन्यादान हुन्छ ।
सानो स्वरमा भए नि एउटा क्रान्ति घन्किन्छ
पाप र पिडाबिच एउटा अर्को कवि जन्मिन्छ !
३.
अँध्यारो रातपछि जहिले बिहानी आउँछ ?
विदेशी वादमाथि कसले सिरानी लाउँछ ?
देश के हो ? जमिन कि मान्छे ?
अन्नको मालिक किशान कि भान्से ?
यो वायु, आकाश, यो मिति
यो राज्य, जवाफ, यो नीति,
यो प्रभावले कसको कहानी सुनाउँछ ?
अँध्यारो रातपछि कहिले बिहानी आउँछ ?
४.
भन्नलाई संसारकै सजिलो,
हुनलाई एकदमै गाह्रो,
देखाउन एकदमै सजिलो,
देखिन साह्रै नै गाह्रो,
सबै धर्मभन्दा ठुलो, सबै जातभन्दा माथि,
सबै कर्मभन्दा ठुलो, हरेक आँटभन्दा माथि,
मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?
एउटै मात्र छ प्रश्न, असल छौ के त ?
५.
हामी मनुष्यलाई एक दिन मर्नु पर्छ,
कसैलाई याद हुँदैन,
दैनिक याद हुनु राम्रो कुरा पनि हैन;
तर बिर्सिनु पनि त सही छैन …
एकदिन यो पाउले धर्ती टेक्दैन,
एकदिन यो शरीरले हुरी छेक्दैन,
एकदिन यो आँखाले संसार देख्दैन,
एकदिन हातले मनको कुरा लेख्दैन,
इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन,
एकदिन,
हामी जति बिकाऊ भए पनि,
आत्माले आफू बेच्दैन !!



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
