मातृथलोको स्वाधिनता रक्षा र फिरोजका खातिर
सुरजगढबाटै बेपर्बाह मलाउँमा पुग्यो
अठार सय बहत्तरको संवत् फिराइको तेस्रो गोधूलि
वृद्ध-वय बिर सरदार !
अहा ! शरणागत
त्यो पनि देउताको थलमा

वीर सरदारः
बडाकाजी ! जुनाफमा हाजिर
आदेश के दिन्छौ मलाई?
भूमिको मोक्षका लागि मेरो लड्ने जात हो, ज्ञात होस्
सुरजगढमै रहन किन दिएनौ ?
त्यो अपशोचको बदला, मलाई एउटा किल्ला र पल्टन
र, सुन… सुन …
यो बाघको सन्तानको देखभाल
उप्रान्त तिम्रो जिम्मा भो

बडाकाजीः
यो बरूणचलको ढलानै मजबुत छैन र त
सुरजगढ मैदान झन् दिनरातको भाँउतो भो
तबै त, ध्याउन्न अब जाइलाग्न्या हो
नालापानीमा बलभद्र र कुमाउँमा बम शाह भए
जैथक र जीतगढीमा क्रमैले रणजित र उजीर छन् ।
एउटै हुँकार गर्नका खुट्को
रहेन फिक्री उम्दा छन् ती
मेरो भूगोल गढवाल यो, जोगाउने जिम्मामा अब
तिम्रो र मेरो आनन बुझ एउटै भो
वीर सरदार ! मलाई साथ देउ..
अनि …
यो थलका देउतासँग माग ल
जोश त्यो जवानीको ।

***
भोलिपल्टको प्रभाती,
त्यो पनि बेपर्वाहै नतिजा,
मलाउँबाटै शत्रु निखन्ने चुरले,
देउथल झरेछन् केही जवान साथ लिदै ।
कुईनेटाभरी फिँजीएका,
मान्छेरुपी थम्पसनका गिद्धहरु भन्ने के पत्तो ?
तैपनि धावा बोलेर, छापामारकै प्रतिकारमा
तोपहरू, गोला र बटालियनहरूको बेहद मुस्लो चिरेर
तरवार र मृत्युको भय तोड्ने संकल्पको भरोसामा,
आमन्ने र सामन्ने हुदै,
हायल-कायल गराउदै बुढो बाघको आयु
सिमिमिति छोटिन्ने दाऊ लागेन,
खोसेर तोपै घुमाउदै उल्टो हान्न खोजेको
एउटा निमेष…
हो त्यो निमिषले …
बिर सरदारको छातिलाई धोका दियो ।

उछिट्टीएको एउटा तोप–तुफानको फिलिङ्गो थ्यो,
तैपनि आगै निलेरै जाइलाग्दै गरेको
हातमा तरबार एकोहोरो नाचिर्ह्यो, नाचिर्ह्यो ।
शरीर डगेन तर भुइले थेग्न मानेन, र
अन्त्यहित युद्धको पलामा शत्रु नै आएर थाम्न खोजेको
बयोवृद्ध विरको शरीरले करुणाको भोग चाहेन ।
शत्रुको निष्पट करुणालाई तरबारले छिनाल्दै क्रमैले,
खुनको बदलामा खुनै त लिए,
अपशोच माथमा विजयको टीका लागेन
आखिरमा दवस्थलको थलमै ढलेको
त्यो परमार्थ बलिको पुकारा …
आफ्नै थलका रमिते देउताहरूले …
हेरिरहे, हेरिरहे

निर्दयताको करुणाले पुजिएको
वीर सरदार त्यै काल चिरशान्तिको यात्रामा हिँडे
उनको कफनलाई खै कसरी निर्दयताले पनि
सम्मान दियो त दियो रे
तर युद्धको आहालमा ज्यान लपेटिए पनि
मस्तकले कहिलै सम्झौता गरेन
तोप रोपिएको तनमा अपमानको भाला कसैले रोप्न सकेन

रगत त छादे पनि होलान्,
तर माटोमा गद्दारीको वमन कहिलै गरेनन्
अन्तमा, उनको कफिनलाई बडाकाजी प्रणाम गरे
र,
देवस्थलको थलमा पुकारा नसुन्नेवाला
देउतालाई नमन गर्नु अन्याय हुन्थ्यो
वा ! बडाकाजीले ठीक गरे
कठै देउता, कठै देउथल !