उनको घुम्टो
र, मेरो घुम्टोमा
खासै फरक छैन
उनी घुम्टोभित्रबाट
चिहाउँछिन्
र, म घुम्टो बाहिरबाट
रवाफ देखाउँछु
उनी अन्धकारमा
पीडा सँगाल्छिन्
र, म उज्यालोमा
शासन गर्ने प्रयत्न गर्छु
उनी जीवनका
सुखद सपना सजाउँछिन्
र, म वर्तमान यथार्थलाई
धज्जी उडाउने अहङ्कार देखाउँछु
उनी बाँच्ने गर्छिन्
आदर्शको संसारमा
र, म षडयन्त्रको जालोमा
ढोंगीपनलाई प्रगतिको सूचक ठान्छु
हो, आजकाल घुम्टो
केवल घुम्टोमा सीमित रहेन
कसैका लागि जन्जिर बन्न सक्छ
र, कसैका लागि आनन्दको हवेली बनिदिन्छ
हो, घुम्टोभित्र लुकेको छ
शोषण र दानवताका छेकवारहरू
र, अड्डा जमाएका छन्
बेइमानीका पाखुरीहरू
तसर्थ, घुम्टो अस्वीकार्य छ
किनकि, घुम्टो दमनको प्रतीक हो
अन्याय र अत्याचार प्रतिछायाँ हो
र, घुम्टो समाजको कलंक हो।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला