जब आकाशवाणी भयो धर्तिमा
सूर्यले आगो ओकल्दैछ
डाइनासोरले झैँ
यो पृथ्वीलाई निल्दैछ भनेर
चट्याङझैँ वर्सिएको आवाजले
जम्मा भएका जीवजन्तुहरू
एक आपसमा भन्दै थिए
आफ्नै अगाडि मर्दै गएको प्रकृतिको काखमा
एउटा निर्मम मृत्यु दिन
अब जन्माउनु छैन नवजात छावाहरू
नवजात डमरुहरू
कोरल्नु छैन अब हामीलाई
कुनै नवजात बचेराहरू
बाजहरू भन्दै थिए
उष्णतापको अग्निकुण्डमा
डढ्दैछन् हाम्रा पखेटाहरू
माछीहरू भन्दै थिए
ताता रहमा पौडिएर
खुइलिँदै छन हाम्रा छालाहरू
यस्तोमा कसरी निदाउन सक्छन्
ती मनुस्यहरू
जस्का कारण हामी आज यहाँ छौँ
उनीहरूले किन रेटे घाँटी प्रकृतिको
या भनौँ
आफ्नै नवजात शिशुको
फगत एक टुक्रा जमिनको लागि
आणविक भट्टीमा
उत्पादन गरिएका क्षेप्यास्त्रसँगै
केही स्वार्थका लागि
उत्खनन गरिएका खनिज पदार्थहरू
यस्तो बर्बरता अनि क्रुरतामा
आफ्ना सन्ततिहरूलाई
जल्दै गरेको पृथ्वी
डुब्दै गरेका समुद्र
र काला पत्थरहरू
कसरी उपहारमा दिन सक्छन्
आफ्नै सन्ततिलाई
बुढो भ्यागुतो उफ्रियो
यत्तिकैमा मृगहरु कराए
ए सुन्यौ
हत्यारा मानिसहरूले धर्तिको हत्या गरे
पृथ्वी बलिरहेछ
दनदनी अग्निको लप्का ओकलेर
कतै बर्संदै छ
कतै गर्जंदै छ
कर्कश ध्वनिको आवाजमा ।
विदुर, नुवाकोट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।