साउने दिन र मेहेन्दीले कोर्ने वर्णमालाका अक्षरहरूमा

अपराधको छाप भेटेपछि

मैले हत्केलाहरू बेरङ बनाएँ

 

प्रेमको प्रतीक रातो रङ पनि क्रान्ति रहेछ

शान्तिको प्रतीक सेतो रङमा पनि शोक रहेछ

ग्रहशान्ति गर्ने कालो रङ नै विद्रोहको प्रतीक भएपछि

रङको हस्ताक्षरसँग हत्केलाहरू डराएका हुन् !

 

रङ्गीन हत्केला भएका अनुहारहरू फिक्का देखेपछि

फिक्का हत्केलासँगै रङ्गीन मन बनाएको हुँ

त्यस कारण सोद्धै नसोध मलाई

साउने दिन र मेहेन्दीले कोर्ने अक्षरको अर्थ के हो !