खुसीमा रमाउनले
बिर्सिन्छ खुसीको औकात
हामी जस्ताले खुसी अफोर्ड गर्न सक्दैनौँ
हामीले सिर्फ दु:खमा रमाउन जानेको छौँ
मेरो गाउँको कच्ची बाटोमा जब गाडी
दाहिने देब्रे ब्रम्हाण्ड फेरेर जोल्टिङ खान्छ
म युरोपेलीको अफ रोडिङ सम्झेर रमाउँछु
जब बाँधको साँध बिर्सेर खोला मेरो खेतमा पस्छ
म जापानको स्विमिङ स्टाइल सिक्न जान्छु
खुसीको एउटा दुइटा परिभाषा बाँधेर बुटी बनाएर लगाइदिएकी छन् आमाले
त्यसैले मैले हरेक समयमा रमाउन जानेको छु
हातमा ठेला उठ्दा बेलुन सम्झिन्छु
बाटोमा धुलो उड्दा सस्तो होली याद आउँछ
मेरो घरको दाउरे चुलोले विदेशी सिगारको धुँवा दिन्छ भन्ने धेरैलाई थाहा छैन
अझ खरानीले त झन् अङ्ग्रेजी कीटनासकको सातो लिन्छ
बाले विदेश जाँदा सुटकेशमा खुसी ल्याउँछु भनेका थिए
बा आएदेखि मैले हरेक कुरामा खुसी हुन्छ मात्र जानेँ
यदि सुखमा मात्र रमाउन मिल्ने भए
नारायण गोपालका गीत कागजस्ता हुन्थे
झमक, पारिजातका किताबमा धमिरा हुन्थे
मुनामदन त अझ लक्ष्मीजीसँगै जलाइथ्यो होला
दुखान्त चलचित्रदेखि पटकथा सबै वर्जित हुन्थे होला
अनि यदि अर्काको दुःख हेरेर सुनेर पढेर रमाउन सकिन्छ भने आफ्नो दु:खमा चाहिँ किन नुन बार्ने, शोक मनाउने
म त भन्छु अब नयाँ नियम ल्याउनु पर्यो
दुःखमा रमाउने ।
ठेगाना : दुधौली-१, गिचिहानी, सिन्धुली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।